‘विश्वको सबै स्थानबाट कोरोना भाइरस नसकिएसम्म यसको अन्त्य नहुने’ विश्व स्वास्थ्य संगठन


काठमाडौं, २३ जेठ: विश्वको सबै स्थानबाट कोरोना भाइरस नसकिएसम्म यसको अन्त्य नहुने विश्व स्वास्थ्य संगठनले बताएको छ । डब्लुएचओकी प्रवक्ता मार्गरेट ह्यारिसले जेनेभामा भएको ब्रिफिङको क्रममा यस्तो बताएकी हुन् । पछिल्लो समय केही मुलुकहरुले कोरोना भाइरस नियन्त्रणको लागि लगाएको लकडाउन खुकुलो पार्ने वा हटाउन शुरु गरिसकेको अवस्थामा मानिसहरु आफैं यसबाट बच्नुपर्ने मार्गरेटले बताइन ।
उनले आफूले युरोपको मात्र नभई विश्वभरका लकडाउन खुकुलो बनाइरहेका सबै मुलुकले पनि अब कोरोना भाइरस सकिने भन्ने किसिमको सोच राख्नु नहुने जानकारी दिइन्।



गत सोमबारदेखि युरोपका सबैजसो मुलुकमा लकडाउन खुकुलो वा हटाइएको छ । लामो समयसम्म लकडाउनमा रहेका अन्य मुलुकमा पनि लकडाउन खुकुलो भएको छ । यस्तोमा कोरोना भाइरसको महामारी अझै बढ्नसक्ने आशंका डब्लुएचओले गर्दै आएको छ ।
अहिलेसम्म कोरोना भाइरसबाट विश्वभर ६६ लाख ६४ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेका छन् भने तीन लाख ९१ हजारभन्दा धेरेको मृत्यु भइसकेको जोन्स हप्किन्स युनिभर्सिटीले बताएको छ।







