कोभिड-१९ विरुद्धको खोप बने पनि त्यसको पहुँच सबैमा नभएसम्म महामारी अन्त्य नहुने


काठमाडौं, २५ जेठ:कोरोना भाइरसविरुद्धको खोप बने पनि त्यसको पहुँच सबैमा नभएसम्म महामारी अन्त्य नहुने संयुक्त राष्ट्रसंघ अन्तर्गतको विकास नीति सम्बन्धी समितिले जनाएको छ ।
द न्यू स्कूलमा अन्तर्राष्ट्रिय सम्बन्धकी प्राध्यापक तथा संयुक्त राष्ट्रसंघीय विकास नीति सम्बन्धी समितिकी सदस्य साकिको फुकुदा–पाराले कोरोना भाइरसको महामारी अन्त्यका लागि खोप मात्रै बनेर नहुने बताएकी हुन् ।



महामारी पूर्णरुपमा नियन्त्रणमा आउनका लागि विश्वका सबै देशले खोपको विकास, उत्पादन तथा वितरणमा सहकार्य गरी सबैको पहुँचमा समान सहज रुपले पुग्ने गरी काम गर्नु पर्ने उनले जोड दिएकी छन् ।
वैज्ञानिकहरु अति तीव्र गतिमा खोप बनाउने प्रयास गरिरहेको जुन अति राम्रो तर खोप बने पनि महामारी नियन्त्रणमा हुन नसक्ने र महामारी अन्त्य हुनका लागि खोपमा सबैको पहुँच सहज रुपमा हुनुपर्ने तथा सबै देशका नागरिकले खोप पाउनु पर्ने पाराले बताएकी छिन्।
राजनीतिक स्वार्थ र व्यक्तिगत हितलाई पाखा लगाएर मानव स्वास्थ्यका लागि विश्वव्यापी ऐक्यवद्धता चाहिने उनले उल्लेख गरेकी छन् ।यस्तै खोप बनाउने अभियानमै पनि बौद्धिक सम्पत्तीको सुरक्षा हुने गरी सबै मिलेर काम गर्नु पर्ने र खोपको पर्याप्त डोज विकासका लागि आर्थिक सहयोग जुटाउनु पर्ने उनले बताएकी छन् ।
विश्वका विभिन्न देश तथा संस्थाहरुले खोप बनाउन प्रयास गरिरहेका छन् । अहिलेसम्म १० वटा सम्भावित खोपहरु मानवीय परीक्षणको तहमा पुगेका छन् । यो वर्षको अन्त्य वा आउँदो वर्षका सुरुमा खोप तयार हुने अपेक्षा छ ।







