कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर आइतबार मन्त्रिपरिषदमा पठाउँदै

काठमाडौं,२५ जेठ:कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव तयार पारेर आइतबार उप’प्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा मन्त्रिपरिषदमा पठाउँदैछ । लकडाउनको मोडालिटीलाई अन्तिम रुप दिन आजै साँझसम्म मन्त्रिपरिषद बैठक बस्न सक्ने उच्च स्रोतले बताएको छ। ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटीलाई अन्तिम रुप दिन लागेको हो । यसवीचमा जेठ २२ गते पनि बालुवाटारमा मन्त्रिपरिषदको बैठक बसेको थियो तर सो बैठकमा उच्चस्तरीय समितिले लकडाउनको मोडल प्रस्तुत गर्न सकेन ।

सरकारले लकडाउनको मोडालिटी तय गर्न नसकिरहेकै बेला काठमाडौं लगायत विभिन्न सहरमा जनस्तरबाटै लकडाउनलाई खुकुलो बनाउने क्रम सुरु भइसकेको छ । आइतबार पनि काठमाडौंमा लगायतका सहरमा अधिकांश पसलहरु खुलेका छन् तथा सडकमा सवारी साधन बाक्लिएका छन् ।

यसवीचमा उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार पारेको थियो । असार १७ गतेदेखि शैक्षिक संस्थाहरु खोल्ने उच्चस्तरीय समितिले प्रस्ताव तयार पारेको थियो । तर, आज जेठ २५ गते भइसक्दा पनि यो प्रस्ताव कार्यान्वयनमा आउन सकेन । उपप्रधानमन्त्रीले तयार पारेको प्रस्तावमा नेपाली सेनाले असहमति जनाउँदा ढीलो भएको स्रोतले बताएको छ।

उच्चस्तरीय समितिकै सचिवालयका रुपमा काम गर्ने गरी नेपाली सेनाको ब्यारेकमा खोलिएको कोरोना संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) एमसीले पनि बेग्लै मोडालिटी तय गरेर उच्च स्तरीय समितिमा प्रस्तुत गरेको छ । यसले गर्दा ईश्वर पोखरेलको प्रस्ताव एकातिर, सीसीएमसी अर्कोतिर हुन पुगेको छ । मन्त्रालयको काममा सेना हावी भएको भन्दै सरकारमै रहेमा कतिपय मन्त्रीहरु असन्तुष्ट देखिएका छन् ।

तर, अब उपप्रधानमन्त्री पोखरेलको समिति र सीसीएमसीले तयार पारेका दुबै प्रस्तावलाई आपसमा मर्ज गरेर अन्तिम प्रस्ताव तयार पार्ने गृहकार्य उच्चस्तरीय समितिले थालेको छ । स्रोतले अनलाइनखबरसँग भन्यो, ‘दुवै प्रस्तावलाई मर्ज गरिँदैछ, सीसीएमसीले हप्ताका आधारमा मोडालिटी बनाएको थियो, त्यसलाई अब ‘चरण’ भनिने छ । अब लकडाउन खुकुलो पार्ने मोडालिटी ‘पहिलो हप्ता, दोस्रो हप्ता’ नभनेर ‘पहिलो चरण, दोस्रो चरण’ का आधारमा गरिने छ । एउटा चरण एक हप्ताभन्दा बढी जान सक्छ ।

उच्चस्तरीय समितिले सदस्य रहेका शनिबार मन्त्रीहरुलाई प्रस्तावको मस्यौदा वितरण गरेको छ । सो मस्यौदामा सुझावहरु आएपछि आजै त्यसलाई अन्तिमरुप दिएर मन्त्रिपरिषदमा पठाइने स्रोतले बताएको छ ।

सम्बन्धित खवर

Back to top button