चामलको बोरामा प्रतिबन्धित लागूऔषध ओसारपसार गर्ने एक नक्कली स्वास्थ्यकर्मी पक्राउ

काठमाडौं,२६ जेठ: चामलको बोरामा प्रतिबन्धित लागूऔषध ओसारपसार गर्ने एक नक्कली स्वास्थ्यकर्मी पक्राउ परेका छन् । ल्याब असिस्टेन्टको नक्कली परिचयपत्र बोकेका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका २२ वर्षीय अनीलकुमार मण्डल ठूलो परिमाणको लागू औषधसहित सोमबार पक्राउ परेको सप्तरी प्रहरीले बताएको छ। ।

तिलक भारतीका अनुसार ‘स्वास्थ्यकर्मी लेखिएको बा. ६७ प ४८५३ नम्बरको मोटरसाइकलमा रहेको चामलको बोरामा लागूऔषध फेला परेको हो। अर्कैको नामको ल्याब असिस्टेन्टको परिचयपत्र साथमा राखेका उनको मोटरसाइकलमा बाँधेको बोरा चेकजाँच गर्दा चामलभित्र लागूऔषध फेला परेको हो ।’

बन्दाबन्दीको समयमा स्वास्थ्यकर्मीलाई हिंडडुल गर्न रोकटोक नहुने भएकाले मण्डलले नयाँ उपाय अपनाएको प्रहरीले अनुमान गरेको छ । चामलभित्र स्पास्मो प्रोक्सिभन प्लस ३ हजार १ सय ६८ क्याप्सुल र एक सय मिलिलिटरको २८ बोतल डाइलेक्स डिसी बराममद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरी निरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा मण्डललाई सप्तरीको बिष्णुपुर गाउँपालिका १ खुरहुरियाबाट पक्राउ गरिएको हो ।

मोटरसाइकल र लागूऔषधसहित पक्राउ परेका मण्डललाई सप्तरी जिल्ला अदालतबाट सोमबार २५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button