अस्तव्यस्त क्वारेन्टीन, स्थानीय भन्छन् “हामी जोखिममा छौं”

जाजरकोट, २७ जेठ : जिल्लाको एक क्वारेन्टीनमा दिनदिनै भाडभैलो मच्चिंदा स्थानीय दिक्क भएका छन् । शिवालय १ मा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेन्टीनमा बसेकाहरुले आपसमा भाडभैलो गर्दा स्थानीय दिक्क भएका हुन् ।

एक स्थानीयले भने, ‘एक त बीच गाउँमा क्वारेन्टीन बनाएपछि कोरोना सर्ला भन्ने डर भैरहेका बेला रातभर हल्ला गरेर सुत्न दिंदैनन् ।’ उनले थपे, ‘चाँडरक्सी खाने, जुवा खेल्ने र हल्ला गर्ने गरेका छन्, तर सरोकारवाला मौन छन् !’ उनले प्रश्न गर्दै भने, ‘कसरी पुग्छ क्वारेन्टीनमै रक्सी?, अचम्मै लाग्छ ।’

एक अर्का स्थानीयले भने, ‘रातभरी जुवा खेल्ने, हल्ला गर्ने जाँडरक्सी खाने काम गर्छन्, हामी उनीहरुको हर्कतले दिक्क भएका छौं ।’

बेलाबेला क्वारेन्टीनमा सानोतिनो लफडा हुँदा आफूहरु पनि रातारात थप बल सहित आउनु परेको छेडाचौरका असई गणेश प्रसाद शर्माले बताए ।

क्वारेन्टीन व्यवस्थापनमा जुटेकाहरुले नै उनीहरुलाई रक्सी र मासु उपलब्ध गराउने गरेको स्थानीयले गुनासो गरेका छन् । स्थानीयले भने, ‘व्यवस्थापनमा जुटेकाहरुले रक्सी र मासु ल्याइदिन्छन्, खाएपछि सबै सँगै नाँच्ने गाउने र आपसमा झैझगडा समेत गरेको देखिन्छ ।’

उनीहरु भन्छन्, “सामाजिक दूरी कामय गर्ने त परको कुरा हो, आपसमा कुटाकुट गर्ने, जुवा खेल्ने, सँगै बसेर जाँडरक्सी खाने, सबै सँग नाँच्ने गर्छन्, यो तरिकाले त कोरोना सबैमा संक्रमण भैसक्यो होला !, गाउँ एकदमै जोखिममा रहेको छ ।” एक स्थानीयले भने, ‘व्यवस्थापनमा जुटेकाहरु क्वारेन्टीन भित्रकासँगै नाच्ने गाउने गर्छन् तर समुदायमा आएर पनि घुलमिल गर्छ्न्, तीनीहरुका कारण हामी जोखिममा छौं ।’

यस विषयमा शिवालय १ का वडाध्यक्ष मानबहादुर पुनले व्यवस्थापन पक्ष केही कमजोर रहेको स्वीकार्छन् । उनले भने, ‘घरपरिवार तथा आफन्तले लुकाएर रक्सी ल्याइदिने रहेछन्, वरिपरि डोरीको घेरावारले काम गरेन, तीनजना मात्रै सुरक्षाकर्मीले कता हरिसक्नुहुन्छ ।’ उनले भने, एकजनाले त गाडीभित्र लुकाएर ल्याइदिएको थाहा भएको छ, हामी छानबिन गरि आवश्यक कारबाही गर्ने तयारीमा छौं ।’
तर क्वारेन्टीनमा बसेकाहरु भने होहल्ला केही पनि नगरेको दाबी गर्छन् । एकजनाले भने, ‘अस्ति आएका साथीहरूले यहाँको नियम थाहा नपाएका कारण हल्ला भएको हो, त्यस्तो जाँडरक्सी खाएर हल्ला भएको छैन् ।’

पैसा छुंदा क्वारेन्टीनमा
भारतबाट आएका मजदुरले दिएको पैसा छोएपछि एक स्थानीय क्वारेन्टीनमा बसेका छन् । शिवालय १ का इन्द्रबहादुर पुनले भारतबाट आएका मजदुरले ल्याएको भारु नोट छोएपछि उनलाई सोही क्वारेन्टीनमा राखिएको हो ।

उनले भने, ‘इन्डियाबाट आएको थाहा भएन, भोक लागेको छ खाजा ल्याइदिनुस् भनेर दिएको पैसा छोएपछि मलाई पनि उनीहरुसँगै क्वारेन्टीनमा राखिएको छ ।’

तर जानीजानी नगर भन्दाभन्दै उनीहरूले दिएको पैसा समात्नुको साथै अटेरी गरि झोलासमेत बोकेपछि आफूहरुले प्रहरी र वडाध्यक्षलाई खबर गरेर क्वारेन्टीनमा राख्न लगाएको स्थानीयले बताएका छन् ।

पीसीआर टेस्ट गर्न ढीला गरेको गुनासो
क्वारेन्टीनमा बसेकाहरुले १४ दिनसम्म पनि पीसीआर टेस्ट नगरिदिएको गुनासो गरेका छन् । पहिलो लडमा उद्धार गरिएका ३२ जनाको क्वारेन्टीनमा बसेको १४ दिन पूरा भएको छ । तर अहिलेसम्म पनि पीसीआर टेस्ट गर्न ढिलाइ गरेको भन्दै उनीहरुले गुनासो गरेका हुन् ।

क्वारेन्टीनमा बसेका शिवालय १ का गोपाल विकले भने, ‘सँगै आएर अनेत्र बसेकाहरुको पीसीआर रिपोर्ट समेत आइसक्यो हाम्रो भने अझै स्वाब समेत कलेक्सन गरिएको छैन्, भद्रगोल क्वारेन्टीनमा बस्दाबस्दा यतैबाट सर्ला भन्ने डर भैसक्यो ।’
उता वडाध्यक्ष पुनले एकदुईदिनमै पीसीआर टेस्टको लागि स्वाब संकलन गरिने बताएका छन् ।

११५ जनालाई एउटै क्वारेन्टीन
शिवालय १ स्यापीमा रहेको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयमा भारतको विभिन्न स्थानबाट उद्धार गरि ल्याइएका ११५ जनालाई एउटै क्वारेन्टीनमा राखिएको छ ।

उद्धार गरिएकाहरु छेडागाड नगरपालिका र शिवालय गाउँपालिकाका नागरिक रहेका छन् ।

उक्त क्वारेन्टीनमा ११५ जनालाई राखिएको शिवालय १ का वडाध्यक्ष मानबहादुर पुनले पुष्टि गरेका छन् । उनका अनुसार चार चरणमा उद्धार गरि ल्याइएका नागरिकलाई क्वारेन्टीनमा राखिएको हो ।

उक्त क्वारेन्टीनमा छेडागाड नगरपालिका ८ का ७ जना र वडा नम्बर १३ का १ जना रहेका छन् । शिवालय २ का ४ जना, वडा नम्बर ९ का २५ जना रहेका छन् भने वडा नम्बर १ का ७७ जनालाई एकै क्वारेन्टीनमा राखिएको छ ।
क्वारेन्टीनमा राखिएका मध्य अधिकांस पुरुष रहेका छन् । ३ जना महिला र ५ बालबालिका रहेकोमा ३ जना बालिका रहेको जनाइएको छ ।

सम्बन्धित खवर

Back to top button