सर्वोच्च अदालतले विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै खर्चमै स्वदेश ल्याउन आदेश

काठमाडौं, २ असार : विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार उडान’का नाममा तय भएका चार्टर फ्लाइटहरु एकपछि अर्को गर्दै स्थगित हुन थालेका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नयाँ तालिका त ल्याउँदैछन् । तर, त्यसअनुसार पनि उडान हुनेरनहुने अन्योल छ । यहीवीच, सर्वोच्च अदालतले विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै खर्चमै स्वदेश ल्याउन आदेश दिएको छ ।

साउदी अरेबियाको दमामबाट हिमालय एयरलाइन्समार्फत सोमबार हुने चार्टर्ड उडान शनिबार सूचना निकालेर स्थगित गरियो । साउदीस्थित नेपाली दूतावासले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि उडान स्थगित गरिदिएको होे । सूचनामा के कारणले उडान स्थगित भएको हो भन्नेबारे खुलाइएन । बरु हवाई उडानका लागि आवश्यक पर्ने आरडीटी वा पीसीआरजस्ता स्वास्थ्यसम्बन्धी परीक्षण पनि हाललाई नगर्न सूचनाबाटै भनियो ।

सोमबार नै माल्दिभ्सबाट समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको योजना थियो । तर, शनिबार सूचना निकालेर कोलम्बोस्थित दूतावासले उडान रद्द भएको जानकारी दियो नेपाल एयरलाइन्सले सोमबार नै मलेसियाबाट गर्ने भनेको उडान पनि भएन । दूतावासले प्राविधिक कारणले उडान स्थगित भएको जानकारी दियो । सरकारी तालिका अनुसार आज मंगलबार कतारबाट नेपालीको स्वदेश फिर्ती हुनुपथ्र्यो । त्यहाँबाट आज नेपाल एयरलाइन्स र भोलि हिमालय एयरलाइन्सले गर्ने भनिएका उडानहरु पनि रद्द भएका छन् । ‘प्राविधिक कारण’ ले रद्द भएको दोहाको उडानको नयाँ तालिका तय भएपछि जानकारी गराइने नेपाली दूतावासले भनेको छ ।

यूएईबाट नेपालीको उद्धारका लागि आज उडान तालिका तय थियो । बिहीबार पनि चार्टर्ड उडान हुने भनिएको थियो । तर, नेपाली दूतावास आबुधाबीले सोमबार सूचना निकालेर भन्यो( ‘असार २ र ४ को मितिको उडान स्थगन भयो ।’ युएईका लागि नेपाल एयरलाइन्सको विमान जाँदै थिए । यहाँबाट हुने उडान रद्द भएको सूचना आइतबार राति दूतावासले आधिकारिक फेसबुक पेजमार्फत सार्वजनिक गरेको थियो । तर, केही मिनेटमै सूचना हटाएको दूतावासले सोमबार सोही सूचना फेरि प्रकाशित गर्‍यो । यो सूचनामा पनि अर्को उडान कहिले हुन्छ भन्ने खुलाइएन । नयाँ उडान तालिका प्राप्त भएपछि जानकारी गराउने दूतावासले भनेको छ ।

बहराइनबाट २५६ नेपाली योजनाअनुसार भोलि बुधबार काठमाडौं उत्रनुपर्ने हो । तर, बहराइनको नेपाली दूतावासका अनुसार असार ३ गते हुने भनिएको उडान असार ७ गतेलाई सारिएको छ । यो निर्णयबाट स्वदेश र्फकने तयारीमा रहेका नेपालीमा पर्न गएको असुविधाप्रति दूतावासले दुःख प्रकट गरेको छ । अस्ट्रेलियाबाट नेपालीको स्वदेश फिर्तीका लागि तय भएको पहिलो उडान पनि एक हप्ता पछाडि सरेको छ । बुधबार नेपाल एअरलाइन्सले सिड्नीबाट गर्ने भनिएको उडान २३ तारेखका लागि सारिएको हो ।

यसरी खाडी, मलेसिया र अष्ट्रेलिया जस्तै विभिन्न मुलुकबाट स्वदेश फिर्तीका लागि तय भएका उडानहरु सरेका छन् । उद्धार भनिएता पनि एकातर्फ सरकारले महंगो भाडादर तोकेको छ र आलोचना हुन थालेपछि ब्यापारीले दलाली गरेजसरी केही रकम घटाएको छ । विभिन्न दूताबासले चार्टर्ड उडान महंगो हुने भन्दै नियमित उडान खुल्ला गर्न सरकारलाई सुझाइरहे पनि ओली सरकारले सुनेको छैन । र, यही बेला सर्वोच्च अदालतले निशुल्क उद्धार गर्न सरकालाई भनेको छ । माथिको यो परिस्थितिले विदेशमा रहेका नेपालीहरुको उद्धारमा सरकारको अव्यवस्था र कमजोरीलाई झल्काएको छ ।

सम्बन्धित खवर

Back to top button