संविधान संशोधन राष्ट्रियसभाबाट पारित गरियो

काठमाडौँ, ४ असारः निशान छापमा रहेको नेपालको नक्सा संशोधन गर्ने संविधान संशोधन विधेयकलाई राष्ट्रियसभाले पनि सर्वसम्मतिले पारित गरेको छ।

प्रतिनिधिसभाले जेठ ३१ गते सर्वसम्मत पारित गरेर पठाएको विधेयकलाई भर्खरै राष्ट्रियसभाले पनि सर्वसहमतिले पारित गरेको हो। ५९ सदस्यीय राष्ट्रियसभामा ५७ जना सांसद उपस्थित थिए। उपस्थित सबैले संशोधन विधेयकको पक्षमा मतदान गरेको अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले घोषणा गरेका हुन्।

प्रतिनिधिसभाले पारित गरेर पठाएको विधेयक राष्ट्रियसभामा सचिव राजेन्द्र फुयालले आइतबार टेबल गरेका थिए। त्यही दिन सैद्धान्तिक छलफल सकेर विधेयकमाथि संशोधन दर्ता गराउन ७२ घण्टा समय दिइएको थियो। उक्त अवधिमा विधेयकमाथि कुनै संशोधन परेन।

सरकारले जेठ ७ गते भारतीय अतिक्रमणमा परेको लिम्पिाधुरा, कुटी, गुञ्जी, नावीसहितका भूमाग समेटेर राजनीतिक तथा प्रशासनिक नक्सा लागू गरेको थियो।

उक्त नक्सालाई संविधानको अनुसूची ३ मा रहेको नेपालको राष्ट्रिय चिन्हमा समावेश गर्न सरकारले जेठ ९ गते प्रतिनिधिसभा सचिवालयमा विधेयक पेश गरेको थियो। विधेयक सर्वसाधरणको जानकारीका लागि जेठ २० गते सार्वजनिक गरेको थियो।

जेठ २७ गते राष्ट्रियसभामा छलफल भइ संशोधनका लागि समय दिइएको विधेयक ३१ गते अर्थात् आइतबार पारित गरेर राष्ट्रियसभामा पठाएको हो। राष्ट्रियसभाले पारेत गरेको सूचना बिहीबार नै प्रतिनिधिसभा बैठकमा जानकारी गराउने तयारी भइहरेको छ।

जानकारीपछि विधेयक प्रमाणीकरणका लागि सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष तत्काल पठाउने तयारी गरेका छन्। प्रमाणीकरणपछि औपचारिक रुपमा नेपालमा राष्ट्रियको चिन्हमा रहेको नेपालको नक्सा संशोधन हुनेछ।

सम्बन्धित खवर

Back to top button