राष्ट्रियसभाबाट बजेट पारित


काठमाडौँ, ४ असारः राष्ट्रियसभाले पनि आगामी आ.व.२०७७/७८ को बजेट पारित गरेको छ। बिहीबार अर्थमन्त्री युवराज खतिवडाको प्रस्तावमा संसदको बहुमतले विनियोजन विधेयकलाई पारित गरेको हो।
प्रतिनिधिसभाले बुधबार नै बजेट पारित गरेको थियो। सरकारले संवैधानिक व्यवस्थाअुनसार जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री खतिवडाले १४ खर्ब ७४ अर्बको बजेट प्रस्तुत गरेका थिए।



अघिल्ला वर्षमा बजेट असारको अन्तिमतिर स्वीकृत हुने भए पनि यसपटक कोरोनाका कारण जेठमै बजेट स्वीकृत भएको हो। प्रतिनिधिसभाले पारित गरेको विनियोजन विधेयकलाई राष्ट्रियसभाले १५ दिनभित्र स्वीकृत गरेर पठाउनुपर्ने छ।
सरकारले आगामी आर्थिक वर्षमा चालु खर्च ९ खर्ब ४८ अर्ब, पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब र वित्तीय व्यवस्था खर्च बापत २ खर्ब ७२ अर्ब छुट्याएको छ।
सरकारले बजेटको स्रोतमध्ये राजस्वबाट ८ खर्ब ८९ अर्ब, वैदेशिक अनुदानबाट ६० अर्ब, बाह्य ऋण २ खर्ब ९९ अर्ब र आन्तरिक ऋण २ खर्ब २५ अर्ब लिने तयारी गरेको छ।
राष्ट्रियसभामा नेकपा बाहेका सांसदले विपक्षमा मत दिएका छन्।








