‘विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने’, नेकपा


काठमाडौँ, ६ असारः नेपाली पुरुषसँग विवाह गरेका विदेशी महिलाले सातवर्ष पछि वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्ने व्यवस्थाको पक्षमा सत्तारुढ नेकपाले निर्णय गरेको छ । नागरिकता विधेयकमाथि छलफल गर्न नेकपाको सचिवालय बैठक शनिबार बिहान बालुवाटारमा बसेको हो । सो बैठकले सात वर्षपछि नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई नागरिकता दिने व्यवस्थाको पक्षमा निर्णय गरेको हो ।
सचिवालय बैठकले सात वर्षपछि वैवाहिक अंगीकृत नागरिकता दिने र सो अवधिसम्मका लागि स्थायी आवासीय प्रमाणपत्र दिने व्यवस्था गर्ने निर्णय गरेको हो ।



वैवाहिक अङ्गीकृत नागरिकता प्राप्त गर्नका लागि जन्मदेशको नागरिकता भने परित्याग गर्नु पर्ने छ । प्रमुख विपक्षी कांग्रेसले भने अङ्गीकृत नागरिकताबारे हाल रहेको व्यवस्थालाई नै कायम गरिनुपर्ने बताएको छ ।
नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलाले चाहेका बखत नेपाली नागरिकता लिन सक्ने विद्यमान व्यवस्था छ ।








