सीमामा तैनाथ भारतीय सैनिकलाई अवस्था हेरेर हतियार प्रयोग गर्न छुट


काठमाडौं, ७ असार : भारतले चीनसँगको सीमा क्षेत्र वास्तविक नियन्त्रण रेखा (एलएसी) मा तैनाथ सुरक्षा कमाण्डरहरुलाई अवस्था हेरेर हतियारको प्रयोग गर्न सक्ने छुट दिएको छ । हिन्दुस्तान टाइम्समा प्रकाशित समाचार अनुसार गलवानमा भएको भिडन्तमा २० भारतीय सैनिकको मृत्यु भएपछि सेनाले एलएसीमा तैनाथ कमाण्डरहरुलाई अवस्था हेरेर फैसला लिन छुट दिएको छ ।
अब कमाण्डर हतियारको प्रयोगमा लगाइएको रोकको बन्धनमा हुने छैनन्, उनीहरुले अवस्था हेरेर निर्णय लिने छुट दिइएको छ ।सैन्य श्रोतलाई उद्दृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ, ‘भारतीय सेना रुल्स अफ इंगेजमेन्ट (आरओई)मा बदलाव गरिरहेको छ ।’



गलवानमा २० जना भारतीय सैनिकको मृत्यु भएपछि विपक्षीले भारतीय सैनिक निहत्ता रहेकोबारे गम्भीर प्रश्न उठाएका थिए । यसको जवाफ दिँदै भारत सरकारले भनेको थियो कि सैनिकसँग हतियार थियो तर सेनाले चीनसँग भएको सम्झौताका कारण हतियारको प्रयोग गरेन ।








