नेवि संघ डडेल्धुराले स्थानीय तहमा तत्काल आइसोलेसन वार्ड बनाउन माग गर्दै प्रदर्शन


डडेल्धुरा, ८ असार : नेपाल विद्यार्थी संघ डडेल्धुराले प्रत्येक स्थानीय तहमा तत्काल आइसोलेसन वार्ड बनाउन माग गर्दै प्रदर्शन गरेको छ। स्वाव लिएको १६औं दिनसम्म पनि रिपोर्ट नआउनु र उनीहरुको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाउने कार्य गरेकाले कोरोनाको जोखिम बढ्ने भन्दै आज सोमबार जिल्ला सदरमुकामको बागबजारमा नेवि संघले प्रदर्शन गरेको हो।
नेवि संघका कार्यकर्ताले विभिन्न पम्प्लेट प्रर्दशन गरेर सरकारको ध्यानाकर्षण गराएका थिए। उनीहरुले जिल्लाका सम्पूर्ण स्थानीय तहमा आइसोलेसन वार्ड तत्काल व्यावस्था गर्नुपर्ने, पिसीआर रिपोर्ट पोजेटिभ आएपनि १४ दिनमा घर पठाउने सरकारको निर्णय सच्याउनु पर्ने, क्वारेन्टिनबाटघर पठाइएकाहरुको समेत निगरानी गर्नुपर्ने, क्वारेन्टिनमा सरकारी मापदण्ड अनुसार सबै व्यवस्थापन गर्नुपर्ने र कोरोना रोकथामका नाममा स्थानीय, प्रदेश र संघ सरकारले खर्च गरेको रकम सार्वजनिक गर्नुपर्ने लगायतका माग राखेको नेपाल दलित विद्यार्थी संघ डडेल्धुराका अध्यक्ष लाल बहादुर बि क ले बताए ।




साथै सरकारी बजेट असारे विकासमा खर्च नगरेर त्यसलाई रकमान्तर गरी कोरोना नियन्त्रणमा खर्च गनुपर्ने आफुहरुको माग रहेको नेवि संघका नेता तथा स्ववियु सभापति जगत ऐरले बताए। उनले असारे विकासमा भ्रष्टाचार गर्ने हरेक तहका विरुद्धमा नेवि संघ अझै कडा रुपमा प्रस्तुत हुने चेतावनीसमेत दिएका छन्।








