चीनको उद्देश्यका सम्बन्धमा नेपाललाई तिब्बती नेता सांगेले दिए चेतावनी

काठमाडाैँ, ११ असारः भारतको धर्मशालामा निर्वासित तिब्बती सरकारका प्रमुख लोबसाङ सांगेले सन् १९६० को दशकमा चीनले तिब्बत लिएदेखि भारतीय उपमहाद्वीपमा कब्जा जमाउन खोजेको भन्दै नेपाललाई चेतावनी दिएका छन् । चीनले तिब्बतलाई जे गर्‍यो, नेपाललाई पनि त्यसै गर्न खोजेको सांगेले बताए ।

डब्ल्यूआईओएनसँग कुरा गर्दै सांगेले चिनियाँ नेतृत्व पाँच औंला योजनालाई पूर्ण गर्ने दिशामा अघि बढिरहेको बताए । पाँचऔंले नीतिअनुसार तिब्बत दाहिने हातको पञ्जा हो भने लद्दाख, नेपाल, भुटान, सिक्किम र अरुणाचल प्रदेश पाँच औंला हुन् ।

उनले भने, ‘सन् २०१७ मा दोक्लम घटना भएको थियो जुन सिक्किम र भुटानको सीमामा पर्छ अनि अहिले लद्दाख घटना भएको छ । यो सबै विशाल दीर्घकालीन विस्तारवादी रणनीतिको एक अंग हो र उनीहरू अहिले त्यसलाई कार्यान्वयन गरिरहेका छन् ।’

सांगेले तिब्बत कसरी चीनको कब्जामा परेको थियो भनी बताए । उनका अनुसार, चिनियाँहरूले शुरूमा चीनबाट तिब्बतसम्म आउने सडक बनाए अनि त्यस सडकले तिब्बतीहरूका लागि समृद्धि ल्याउने भने । सडक बनेपछि ट्रक, ट्यांक र बन्दूक आउन थाले । लगत्तै तिब्बत चीनको कब्जामा आयो ।

चीनसँग दूरी कायम नभएमा नेपालले यस्तै नियति भोग्नुपर्ने सांगेको भनाइ छ ।

‘उनीहरूको निकै धूर्त रणनीति छ जसलाई एलिट कोअप्टेसन भनिन्छ । त्यो भनेको सबै सम्भ्रान्तलाई किनिदिने हो । उनीहरू तपाईंका राजनीतिक नेता, व्यापारिक नेता, बुद्धिजीवी, पत्रकार र धार्मिक नेताको पछि लाग्छन् ।

उनीहरू समुदायका सबै क्षेत्रमा रहेका सम्भ्रान्तलाई किनिदिन्छन् । वास्तवमा उनीहरूले नियन्त्रण गर्दा देशै विभाजित भएको हुन्छ । एकथरीले चीनको समर्थन गरिरहेका हुन्छन् भने अर्काथरीले आफ्नै देशको समर्थन गरिरहेका हुन्छन्,’ सांगेले डब्ल्यूआईओएनलाई बताए ।

सम्बन्धित खवर

Back to top button