लकडाउनमा प्रहरी अधिकृतहरुको ‘घिनलाग्दो हर्कत’


काठमाडौं, १२ असारः चीनको सिमाबाट तस्करीमार्फत भित्रिएको सुन लुटेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवाको सिमा प्रहरी चौकी टिमुरेका तत्कालिन प्रमुख खेमराज नेपालसहित १६ जना प्रहरीलाई पक्राउ गरि केही दिनअघि मार्फत विशेष अदालतमा मुद्धा दर्ता गर्यो। अख्तियारको दावी मान्ने हो भने प्रहरी निरिक्षक नेपालले सुन लुटेको बलियो प्रमाण छ।
बिहीबार एकै दिन दुई जना प्रहरी निरिक्षक पक्राउ परे। एक जनालाई प्रहरी संगठन आफैले थियो भने अर्कालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले।



कैलालीको जिल्ला प्रहरी कार्यालयमा मुद्धा शाखामा कार्यरत प्रहरी निरिक्षक प्रकाश कार्कीले प्रतिवादीसँग मुद्धा मिलाइदिने शर्तमा ५० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेको अख्तियारको दावी छ।
यता प्रहरीको लागु औषध नियन्त्रण ब्युरो-एनसिबीले ललितपुर जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरिक्षक रुद्र शाहीलाई बुधबार नै पक्राउ गरेको थियो। लागु औषध कारोबारीसँग मिलेर शाहीले भारतीय नाकामा आफै पुगेर लागु औषध ल्याउने गरेको एनसिबीको दावी छ।
भक्तपुरको पेप्सिकोलामा एनसिबीले बुधबार गरेको एक अप्रेसनमा पक्राउ परेका अभियुक्तले शाहीको संलग्ननता खोलेका थिए। अनुसन्धान अधिकारीका अनुसार शाहीले लागु औषध सेवन गरिरहेको अवस्थाको भिडियो पनि बरामद भएको छ। भारतबाट लागु औषध ल्याउन शाही आफै गाडी लिएर सिमासम्म पुगेका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले केही दिनअघि हुन्डीको आवरणमा व्यवशायीको पैसा लुटेको आरोपमा दुई जना प्रहरी अधिकारीलाई पक्राउ गरेको थियो। पक्राउ पर्नेमा काठमाडौं प्रहरी परिसरमा कार्यरत असई र अर्का एक जवान छन्।
उनिहरुले न्युरोडमा एक व्यवशायीलाई थर्काएर १० लाख रुपैयाँ लिएको महाशाखाको आरोप छ। ती व्यवशायीको साथमा भेटिएको पैसा प्रहरी अधिकारीले हुन्डीको भएको थर्काएर १० लाख रुपैयाँ दिए गुपचुप हुने बताएर पैसा हात पारेको अनुसन्धान अधिकारी बताउँछन्। शुक्रबार मात्र प्रदेश-२ प्रहरीले २ जना सहायक निरिक्षक-असई र एक जना जवानलाई निलम्बन गरेको जनाएको छ।
हुन्डी कारोबारीलाई सघाएको देखिएपछि आवश्यक कारबाहीका लागि रौतहटको औरेया प्रहरी चौकीमा कार्यरत असई ललित शाह र जवान दिनेश हजारालाई निलम्बन गरिएको प्रदेश-२ प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए।
उनका अनुसार रौतहटको ब्रह्मपुरी चौकीमा कार्यरत संजिवकुमार झालाई निलम्बन गरिएको छ। झाले पनि प्रहरी आचरणविरुद्धको गतिविधी गरेको र पटकपटक सुध्रने मौका दिँदासमेत नसुध्रिएको प्रदेश-२ प्रहरीले बताएको छ।








