लकडाउनका बेला घरभाडा लिए कारवाही गर्ने चेतावनी : विप्लव सेती-महाकाली व्यूरो


धनगढी, १८ असार : नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) सेती–महाकाली व्यूरोले लकडाउनका बेला घरभाडा नलिन घरधनीलाई आग्रह गरेको छ। एक विज्ञप्ति जारी गर्दै विप्लवले लकडाउन अबधीभरको व्याज मिनाह गर्न बैंक तथा बित्तिय संस्थाहरुलाई आग्रह गरेको छ। यस्तै उसले लकडाउनको बेला घरभाडा दिने घरधनीलाई कारवाहीको भागेदार हुनुपर्ने चेतावनी समेत दिएको छ।
पार्टीका नेता निर्माणद्वारा हस्ताक्षरीत उक्त विज्ञप्तिमा भनिएको छ, ‘लकडाउनको कारण जनताको जिबन गुजारा गर्न मुस्किल भईरहेको बेला शहर बजारका घरधनीहरुले घर भाडा अशुल गर्ने नाम बाहालमा बस्ने हरुलाई निकै दुःख दिइरहेको र यसमा राज्यले पनि ध्यान नदेखाएकोप्रती पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। केही मानविय भावना भएका घर मालिक बाहेक सबै पूँजीबादी चेतनाले लैश भएका व्यत्तिीहरुले घर बाहालको नाममा अपराधिक व्यवहार देखाउँदै आएकोले त्यसको तत्काल रोक्न र राज्यको तर्फबाट समन्वय गर्न सुझाव पेश गर्न चाहान्छौ। यदी सामान्य मानविय भावनालाई समेत वेवास्ता गरी घरबहालको नाममा दुख दिने काम कसैले गरेको पाइएमा पार्टीको तर्फबाट जनकारवाही गर्ने जानकारी समेत गराउँदछौं।’



साथै विप्लवले वैज्ञानिक वनको नाममा भइरहेको बन फडानी तत्काल रोक्न, विद्यालयहरुले सुरु गरेको धनाड्यका छोराछोरीलाई मात्रै फाइा पुग्ने अनलाइन माध्यमबाट पठनपाठन रोक्न र सुदूरपश्चिम प्रदेशमा असारे विकासको नाममा बजेट सक्ने र भ्रष्टाचार गर्ने कार्य तत्काल बन्द गर्न समेत भनेको छ।








