बाढीपहिरोले क्षति पु¥याएका घरहरु प्रदेश सरकारले बनाउने

हेटौँडा, ७ साउनः बागमती प्रदेशको प्रदेशसभामा मंगलबार प्रदेशका मुख्यमन्त्री पौडेलले जवाफ दिएका छन् । यसअघि संसदको विशेष समयमा उठेका प्रश्नहरुको जवाफमा मुख्यमन्त्री पौडेलले अविरल वर्षाको कारण भइरहेको बाढीपहिरोमा केन्द्रित भएका थिए ।

उनले बागमती प्रदेशभरि बाढीपहिरोले क्षति पु¥याएका घरहरु प्रदेश सरकारले बनाउने बताएका हुन् । पौडेलले प्रदेशका केही स्थानीय तहलाई राहत वितरणका लागि सरकारले आवश्यक बजेट उपलब्ध गराइसकेको र घर भत्केका परिवारका सम्बन्धित स्थानीय तहले तथ्याङ्क संकलन गरिरहेको जानकारी दिए । उनले घाइतेको उपचार, राहत वितरण तथा घर निर्माणका लागि स्थानीय तहसँगको समन्वयमा गरिने बताएका छन् ।

यस्तै, मंगलबार नै भएको बैठकमा बागमती प्रदेशको प्रदेशसभाले नियम निलम्बन गरी वातावरण संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । २४ घन्टाको अवधिको नियम बहुमतले निलम्बन गरी विधेयक पारित गरिएको हो । प्रदेशसभा नियमावलीअनुसार आज बुधबारमात्रै २४ घन्टा अवधि पुग्ने थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरूण नेपालले संसद्मा पेश गरेको विधेयक बहुमतले पारित भएको छ । विधेयकमाथि सांसदले धारणा राख्ने क्रममा विधेयकमा त्रुटि रहेको र नियम नै निलम्बन गरेर ल्याएकोमा असन्तुष्टि व्यक्त गरेका थिए ।

मंगलबार नै बसेको अघिल्लो बैठकमा उद्योग, पर्यटन तथा वातावरण समितिकी सभापति रमा आले मगरले समितिको प्रतिवेदनसहितको विधेयक संसद्मा पेश गरेकी थिइन् ।

प्रदेश सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । साउन २ गतेदेखि सुरू भएको बैठकमा तीनवटा विधेयक पारित भएको छ । प्रदेश प्रहरी ऐन, प्रदेशभित्रको सुशासनसम्बन्धी बनेको ऐन र वातावरण संरक्षणसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।

सम्बन्धित खवर

Back to top button