पूर्व-पश्चिम राजमार्गमा स्थानीयले रोपे केरा


दाङ, ७ साउनः हरेक वर्ष पूर्व-पश्चिम राजमार्गको दाङ खण्डमा परेका खाडल पुर्न टालो हाल्ने गरिन्छ । यो काम गर्न करोड बढीको बजेट खर्च हुन्छ । तर, एक वर्ष नटिक्दै त्यही ठाउँमा खाडल पर्छ।
राजमार्गमा वर्ष दिन पनि राम्रोसँग नटिक्ने टालो हाल्ने गरिएका कारण समस्या दोहोरिने गरेको हो । गत वर्ष पनि राजमार्गमा खाडल परेर हैरानी भयो। यस वर्ष पनि गत वर्ष जस्तै समस्या निम्तन थालेको छ । ठाउँ ठाउँमा ठूला खाडल परेर आवतजावतमा समस्या पर्न थालेको हो।



कतिपय ठाउँका स्थानीयले त राजमार्गमा बढेको खाडलको व्यङ्ग्य गर्दै खाडल परेको सडकमा केराको बोट सार्न भ्याएका छन्। लमही नगरपालिका वडा नं. १ नर्तीका स्थानीयले राजमार्गमा खाडल बढेपछि सांकेतिक रुपमा विरोध जनाउदै खाडल परेको ठाउँमा दुईवटा केराको बोट सारेका हुन्।
‘हरेक वर्ष हामीले राजमार्गमा परेको खाडलका कारण सास्ती खेप्नु परेको छ । जहिले पनि राजमार्ग टालटुल गर्ने काम ढिलो र कम प्राथमिकतामा पर्छ । त्यही भएर सरकारको ध्यानाकर्षणको लागि केराको बोट सारेर सांकेतिक रुपमा विरोध जनाएका हौं’ लमही–१ नर्तीका घनश्याम खनालले भने–‘गत वर्ष जुन ठाउँमा टालो हालिएको थियो । अहिले पनि त्यही ठाउँमा खाडल पर्यो । एक वर्ष पनि नटिक्ने कस्तो टालो हो ?
सडक डिभजिन दाङले हरेक वर्ष राजमार्गमा बढेका खाडलहरु पुर्दै आएको छ । तर, यो काम प्रभावकारी हुन नसक्दा समस्या दोहोरिने गरेको छ ।
पूर्व पश्चिम महेन्द्र राजमार्ग बनेदेखि अहिले सम्म पिच उप्किएको ठाउँमा टालो मात्रै हाल्ने काम गरिएको छ । राजमार्ग ‘बुढो’ भैसक्दा समेत पुर्ननिर्माणमा ध्यान पुगेको छैन । विस २०१९ बैशाख १ गते नवलपरासीको गैंडाकोटबाट राजमार्ग निर्माणको काम थालिएको थियो।
एक हजार २८ किलोमिटर लामो राजमार्ग बनेदेखि अहिले सम्म मर्मतको नाममा टालो हाल्ने काम बाहेक अन्य काम भएको छैन । राजमार्ग बुढो भैसकेको र बिग्रेको स्थानमा पुर्ननिर्माणको काम गर्नुपर्ने आवाज उठ्न थालेको हो । राजमार्ग निर्माण भारत, रुस, एसियाली विकास बैंक बेलायतको सहयोगमा गरिएको थियो ।
पानी पर्न छाड्यो भने खाडल परेका ठाउँमा टालो हालिने र त्यस पश्चात हालको सडकमाथि कालोपत्रेको तह थप्ने काम सुरु गरिने सडक डिभिजन कार्यालय दाङले बताएको छ।
‘पानी परिरहेको छ । पानी पर्न छाड्यो र सडक सुख्खा भयो भने खाडल परेको ठाउँ पुर्छौं’ सडक डिभिजन दाङका इञ्जिनियर महेश विश्वकर्माले भने–‘खाडल पुर्ने काम सडक डिभिजनले आफै गर्छ भने सडक ‘ओभरले’ गर्ने काम ठेकेदार मार्फत हुन्छ।’
नर्तीदेखि लमही सम्मको १३ किलोमिटर सडकमा धेरै खाडल छन् । यो सडकमा कालोपत्रेको तह थप्ने ‘ओभरले’को काम सुरु गरिने सडक डिभिजन दाङले बताएको छ। नर्ती देखी लमहीसम्म सडकमा कालोपत्रेको तह थप्न ७ करोड ८२ लाखको बजेट मार्फत काम गरिने इञ्जिनियर महेश विश्वकर्माले जानकारी दिए।
यस्तै धानखोलादेखि कालाकाटे सम्मको ७ किलोमिटर सडकमा समेत सडक ओभरलेको काम गरिने छ । जसको लागि साढे तीन करोड बजेट छ।
‘गत वर्ष काम सक्ने लक्ष्य थियो । ठ्याक्कै लकडाउन भयो । काम सुरु हुन पाएन । अब लकडाउन खुलेपछि मजदुरहरु ल्याउन सकियो भने दसैँसम्म सडक ओभरलेको काम सकिन्छ’विश्वकर्माले भने–‘हालको सडकमा कालोपत्रेको तह थप्ने काम भएमा अहिले देखिएको खाल्डा खुल्डीको समस्या हल हुन्छ।’








