कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना


काठमाडौँ, २० साउनः विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ का प्रमुखले कोरोना भाइरसविरुद्धको खोप चाँडै उपलब्ध हुने आश रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने सम्भावना पनि रहेको बताएका छन् । डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले पत्रकार सम्मेलनमा भनेका छन्, ‘अहिले कुनै पनि सिल्भर बुलेट छैन–र कहिल्यै नहुन पनि सक्छ ।’
डब्लुएचओ प्रमुख डा. टेडरोजले विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गरेका छन् । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म एक करोड ८० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । त्यसमध्ये ६ लाख ८९ हजार भन्दा बढीको ज्यान गएको छ ।



जेनेभामा भएको पत्रकार सम्मेलनमा डा। टेडरोजले भने, ‘केही खोपहरु अहिले तेस्रो चरणको मानवीय परीक्षणको चरणमा छन् । र आशा छ कि संक्रमणबाट जोगाउने खोप प्राप्त हुनेछ ।’
डब्लुएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोस भने, ‘तर अहिले नै हामीसँग सिल्भर बुलेट छैन र नहुन पनि सक्छ । अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपलब्ध उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै हो । यस्तै संक्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राखिनुको विकल्प छैन ।’
यस्तै प्रमुख डा. टेडरोजले कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् । दूधबाट संक्रमण नफैलिने भएकाले स्तनपान जारी राखिनु पर्ने उनले बताएका हुन् ।
यस्तै कोरोना भाइरसको उत्पत्ति वा संक्रमणको सुरुवात कहाँबाट भएको हो भन्नेबारे चीनमा डब्लुएचओको अगुवाइमा भएको अनुसन्धानको पहिलो चरण सकिएको पनि उनले जानकारी दिएका छन् । सरुवा रोगविज्ञहरुले चीनको वुहानस्थित मासु बजारबाट जनावर हुँदै मानिसमा कोरोना भाइरसको संक्रमण फैलिएको विश्वास गर्छन् ।
सोही विषयमा अहिले वुहानमा चीनका विज्ञसहित डब्लुएचओको टोलीले अनुसन्धान गरिरहेको छ । पहिलो चरण समाप्त भएको बताए पनि विवरण भने खुलाइएको छैन ।







