निषेधाज्ञाको समय बढाइरहँदा मारमा केरा व्यवसायीहरु

चितवन, ६ भाद्रः कोरोना संक्रमितको संख्या बढ्दै गएपछि चितवन प्रशासनले निषेधाज्ञाको समय बढाइरहँदा त्यसको प्रत्यक्ष मारमा केरा व्यवसायीहरु परेका छन् । निषेधाज्ञाको समयले गर्दा चितवनमा उत्पादन भएको केराले बजार पाएको छैन, जसका कारण केरा बारीमै पाकेर कुहिन थालेका छन् ।
‘देशभर तीन महिना बढी लकडाउन भयो, केही दिन खुलेको चितवनको बजार फेरि निषेधाज्ञाले ठप्प भएको छ’, चितवनका केरा किसान यज्ञप्रसाद सुवेदीले भने, ‘लहलहाउँदा तीजका केरा बजार नपाएर बारीमा नै पाकेर कुहिन थाले ।’ उनका अनुसार चाडपर्वको समयमै केरा किसानले बजार नपाएपछि उनीहरु ठूलो मारमा परेका छन् ।

७० बिघामा केरा लगाएका सुवेदीले भने, ‘विगतमा चाडपर्वको बेलामा केराले राम्रै मूल्य पाउँथ्यो, तर अहिले केराको मूल्य त छोडौँ बारीमा पाकेर झरिरहेका छन्, बिक्री नै भएको छैन ।’ उनका अनुसार लकडाउन खुलेको समयमा बिक्री भएको केराले समेत राम्रो मूल्य पाउन सकेन ।
चितवन केरा उत्पादन संघका पूर्वअध्यक्षसमेत रहेका सुवेदीले यतिबेला केरा उत्पादन गर्ने किसानले दैनिक लाखौँको नोक्सान सहनु परेको बताउँछन् । उनी भन्छन्, ‘एकातिर केरा नबिकेर किसान मारमा परेका छन् भने अर्कोतिर बारीबाटै केरा चोरी पनि भइरहेको छ ।’ केराले बजार नपाएपछि किसानका लाखौँका केरा चोरी भएको उनी बताउँछन् ।

कालिका नगरपालिका वडा नं–६ का वडाध्यक्ष तथा केरा किसान विनोद रेग्मीले धेरै किसानको केरा बारीमै खेर गइरहेको बताए । उनले भने, ‘मेरो पनि डेढ बिघामा केरा छ, तर यतिबेला बारीमा पाकेर खेर जाने अवस्था छ, बिक्री नै भएको छैन ।’
उनले चितवनका केरा किसान चौपट मारमा परेको बताए । उनले भने, ‘तीजका केरा खेर जाने अवस्था देखियो, बोटमै पाकेर झरिरहेका छन् । ज्यादै न्यून मात्रामा बिक्री भए पनि मूल्य पाएनन्, कोरोनाको कहरमा भएको लकडाउनले केरा किसान मारमा परे ।’ उनका अनुसार यसपटक रोगकीराको प्रकोपले समेत केरा किसान थप मारमा परेका छन् ।

चितवन केरा उत्पादन संघका अध्यक्ष घननाथ महतोले चितवनका ७५ प्रतिशत केरा किसानको उत्पादित केरा बारीमै पाकेर कुहिने अवस्था रहेको बताए । उनले भने, ‘यतिबेला केराको अन्तिम सिजन हो, तीजको समयमा केरा बिक्री नहुँदा किसानको उठीबासै लाग्ने अवस्था सिर्जना भएको छ ।’
विभिन्न जिल्लामा गाडीबाट पठाइएको केरा पनि फिर्ता भएको उनी बताउँछन् । उनले भने, ‘कतिपय जिल्लामा गाडी नै छिर्न दिइएको छैन, सस्तोमा केरा बेच्न खोज्दा पनि बिक्री भएको छैन ।’

उनका अनुसार निषेधाज्ञाले मात्र नेपाली केराले बजार नपाएको होइन, भारतबाट सस्तोमा केरा आउँदा यहाँको केरा बिक्री नभएको हो । उनले भने, ‘अझै पनि भारतबाट केरा आइरहेको छ, कसरी यहाँको केरा बिक्री हुन सक्छ ?’ दाङ, नेपालगञ्जतिर चितवनको केरा जाने गरेको र अहिले भारतबाट केरा आउँदा त्यता चितवनको केरा जान नसकेको उनको गुनासो थियो ।

कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले उत्पादित केराले बजार नपाएको जानकारी दिए । उनले भने, ‘लकडाउनको असर सर्वत्र परिरहेको छ, जुन असर केरा किसानमा पनि परेको हो ।’ चितवनमा झन्डै ७०० किसान केराखेतीमा लागेका छन् । यहाँ तीन हजार बिघाभन्दा बढीमा केराखेती गरिएको छ । चितवनमा वार्षिक ६ हजार मेट्रिक टन केरा उत्पादन भइरहेको छ ।

चितवनमा गत वर्ष दुई अर्ब रूपैयाँबराबरको केरा बिक्री भएको चितवन केरा उत्पादन संघको तथ्याङ्कमा उल्लेख छ । केरा उत्पादनमा चितवन देशकै अग्रणी जिल्लामा पर्छ । यहाँ केरा जोन क्षेत्र पनि रहेको छ । रत्ननगर, कालिका खैरहनीका केही वडा र भरतपुरको वडा नं–१ लाई केरा जोन क्षेत्रमा राखिएको छ । चितवनको केरा जोन क्षेत्रमा १८ सय बिघामा केराखेती भएको छ ।

सम्बन्धित खवर

Back to top button