प्लाज्मा थेरापीबाट सुदूरपश्चिममा पहिलो पटक कोरोना संक्रमितको उपचार


डडेल्धुरा, २१ भदौ : प्लाज्मा थेरापी विधिबाट सुदूरपश्चिम प्रदेशमा पहिलो पटक कोरोना संक्रमितको उपचार सुरु गरिएको छ ।सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा रहेकी एक महिलालाई प्लाज्मा थेरापी विधिबाट उपचार सुरु गरिएको हो ।
कोरोनाबाट संक्रमणमुक्त भएका धनगढी उप–महानगरपालिका वडा नम्बर १४ फूलबारीका २२ वर्षीय युवकले संक्रमित महिलाको लागि प्लाज्मा थेरापीबाट उपचारका लागि रगत दान गरेका थिए । कोरोना संक्रमणपछि गम्भीर अवस्थामा पुगेकी महिलामा प्लाज्मा थेरापी गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए



प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचारका लागि रगत अभाव हुन नदिन शुक्रबारदेखि धनगढीमा नेपाल रेडक्रस सोसाइटीले प्लाज्मा संकलन सुरु गरेको छ ।
हालसम्म ६ जनाले रक्तसञ्चार केन्द्र धनगढीमा प्लाज्मादन गरेका छन् । कोरोनामुक्त भएका ३ जना स्वास्थ्यकर्मी, २ स्थानीय र एक नेपाल प्रहरीका कर्मचारीले रक्तदान गरेका हुन् ।उनीहरु मध्ये ५ जनाले शुक्रबार र १ जनाले आइतबार बिहान प्लाज्मा दिएका थिए ।








