सीमामा तनावका बीच भारत र चीनका विदेशमन्त्रीबीच भेटवार्ता


काठमाडाैँ, २६ भाद्रः भारत र चीनबीच सीमाको वास्तविक नियन्त्रण रेखा (एलएसी) मा जारी तनाव न्यूनीकरण गर्ने विषयमा दुवै देशका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । रुसको मस्कोमा आयोजित सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को सम्मेलनमा सहभागी हुन पुगेका भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच बिहीबार राति वार्ता भएको हो ।
वार्ताको क्रममा लद्दाखमा एलएसीमा जारी तनाव कम गर्न दुवै देशबीच पाँच बुँदे सहमति भएको बताइएको छ। बिहीबार भएको बैठक करीब तीन घण्टा चलेको थियो । भारतीय समाचार एजेन्सी एएनआईका अनुसार, भारतीय विदेशमन्त्री जयशंकरले भारत एलएसीमा भइरहेको तनाव थप बढाउन नचाहने स्पष्ट पारेका छन् । यस्तै, चीनप्रति भारतको नीतिमा कुनै परिवर्तन नआएको र भारतप्रति चीनको नीतिमा पनि सोही अपेक्षा गरेको पनि उनले बताए ।



चिनियाँ विदेश मन्त्रालयले छिमेकी देश हुनुको नाताले चीन र भारतबीच केही विषयमा असहमति हुनु स्वाभाविक भएको र ती असहमतिलाई वस्तुगत रुपमा हेरिनुपर्ने बताएको छ । चिनियाँ विदेश मन्त्रालयलाई उद्धृत गर्दै एएनसआईले लेखेको छ, “चिनियाँ विदेशमन्त्री वाङ यीले चीन र भारतको सम्बन्धमा केही असमझदारी उत्पन्न भएको छ, तर जबसम्म दुवै पक्ष आफ्नो सम्बन्धलाई सही दिशमामा बढाइरहन्छन्, तबसम्म कुनै समस्या आउँदैन र समाधान गर्न नसकिने कुनै चुनौती पनि हुँदैन।”
गत साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले मस्कोमै एससीओ बैठकको दौरान चिनियाँ समकक्षीसँग भेटवार्ता गरेका थिए । उक्त वार्तापछि चाँडै दुवै देशका विदेशमन्त्रीको पनि बैठक हुने बताइएको थियो ।
भारत र चीनबीच सीमाको तनाव मत्थर गर्न एलएसीमा पनि सैन्य तहमा संवाद चलिरहेको छ । बिहीबार दुवै सेनाका बीच ब्रिगेडियर स्तरमा कुराकानी भएको थियो । यसअघि दुवै देशबीच लेफ्टिनेन्ट जनरलको तहमा संवाद भएको थियो । तर, तनाव कम गर्नमा त्यसबाट प्रगति हन सकेन । भारत र चीनले एक-अर्का देशका सेनाले एलएसी पार गरेको र उक्साएको आरोप-प्रत्यारोप लगाउँदै आएका छन् ।








