कैलालीका २४ सहित सुदूरपश्चिम प्रदेशमा आज थप ४६ जनामा कोरोना पुष्टि


धनगढी, ८ असोज : कैलालीका २४ सहित सुदूरपश्चिम प्रदेशमा थप ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेशमा रहेका ५ वटा प्रयोगशाला मार्फत पछिल्लो २४ घण्टामा ६ सय २७ जनाको कोरोना परीक्षण भएको ४६ जनामा संक्रमण पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा धनगढीका १७ सहित २४ जनामा कोरोना पुष्टि भएको छ।
अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा तीन सय ४९ जनाको परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका वडा नम्बर ११ का ४ महिला र ६ पुरुष गरी १० जना, वडा नम्बर २ का चार पुरुष र वडा नम्बर १२ का एक महिला र दुई पुरुष गरी तीन जनामा संक्रमण पु्ष्टि भएको हो। यस्तै लम्कीचुहा नगरपालिकाका दुई महिला र दुई पुरुष गरी चार जना, जानकी गाउँपालिकाका दुई जना र गोदावरी नगरपालिकाका एक जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।



उता डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ४ पुरुषमा संक्रमण पुष्टि भएको छ। एक सय २८ जनाको कोरोना परीक्षण भएकोमा चार जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले शिखर नगरपालिका र दिपायल सिलगढी नगरपालिकाका दुई÷दुई जनामा कोरोना पुष्टि भएको जानकारी दिए।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको छ। अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालले बैतडीको पुर्चौडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।
उता जिल्ला अस्पताल बझाङमा कारोना प्रयोगशाला सञ्चालनमा आएको छ। जिल्ला अस्पतालका प्रमुख डाक्टर सन्दिप ओखेडाले कोरोना परिक्षण प्रयोगशाला स्थापना गरि सञ्चालनमा ल्याउन सफल भएको भन्दै सहयोगी सबैलाई धन्यवाद ज्ञापन गरे। प्रयोगशालमा दैनिक २ सय जनाको नमुना जाँच गर्न सक्ने क्षमता छ।
भदौ २६ गते जिल्ला भित्रिएको पिसिआर जडान गर्ने इन्जिनियर बैतडीको प्रयोगशालामा व्यस्त हुँदा बझाङको प्रयोगशाला जडानमा केही ढिलो भएको थियो। यस्तै बझाङमा भएको परीक्षणमा सात जनामा संक्रमण पुष्टि भएको छ। ७७ जनाको कोरोना परीक्षण गर्दा सात जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या सात हजार ३० पुगेको छ। संक्रमण पुष्टि भएका झण्डै पाँच हजार ८ सयले कोरोना जितेका छन् भने १६ जनाको मृत्यु भएको छ।








