नेपालको विदेश नीतिका केही पक्षहरु

पृष्ठभूमी

नेपालको बिदेश नीति संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त (शान्तिपूर्ण सह–अस्तित्व, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वतन्त्रता प्रतिको पारस्परिक सम्मान, अनाक्रमण, एक राष्ट्रले अर्को राष्ट्रको आन्तरिक मामलामा अहस्तक्षेप र समानता र पारस्परिक हित) अन्तराष्ट्रिय कानुन र विश्वशान्तिका मूल्य र मान्यताहरुमा आधारित छ । नेपालको विदेश नीति समय सन्दर्भ अनुसार परिवर्तन हुँदै आएको छ । आफ्ना दुईवटा मुख्य छिमेकी राष्ट्रहरू (भारत र चीन) बीच सन्तुलित विदेश नीति र कुटनीतिलाई निरन्तरता दिनु, राष्ट्रिय हितको पहिचान र प्राथमिकीकरण गर्नु, विदेश नीतिको आधुनिकीकरण गर्नु, विदेश नीतिका बारेमा राजनीतिक समझदारी कायम गर्नु, राष्ट्रिय एकता कायम गर्नु, विदेश नीति सञ्चालन गर्ने कौशलता बोकेको असल नेतृत्व स्थापित गर्नु र नेपालको आर्थिक कुटनीतिलाई सफलतापूर्वक सञ्चालन गर्नु आदि नेपालको विदेश नीतिका विद्यमान मुख्य चुनौतिहरु हुन् ।

भारतीय लेखक प्रकाश चन्द्रका अनुसार कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रको निर्धारित लक्ष्य प्राप्तिका लागि अर्को राष्ट्रको व्यवहारमा प्रभाव पार्नका लागि गरिने निवेश र कार्यहरुको प्रयास नै विदेश नीति हो भनी आफ्नो “अन्तराष्ट्रिय सम्बन्ध” पुस्तकमा उल्लेख गरेका छन् । अर्का भारतीय लेखक विनय कुमार मलहोत्राले विदेश नीतिको सफलताले सम्बन्धित राष्ट्रका जनताहरुको नजरमा र बाह्रय दुवै रुपमा सरकारको विश्वसनियता र प्रतिष्ठा बढाउने कार्य गर्दछ भनि आफ्नो पुस्तक “अन्तराष्ट्रिय सम्बन्ध” मा उल्लेख गरेका छन् । कतिपय विद्वान्हरुलाई विदेश नीति आन्तरिक शक्ति र राज्यको लक्ष्यको बाह्य प्रर्दशनको रुपमा पनि लिने गरेको पाइन्छ । बिदेश नीतिको निर्माण गर्दा कुनै अविच्छिन्न प्रक्रिया, राज्यको निर्णायक तत्वहरु र सैद्धान्तिक आधारहरु हुँदैनन् भन्ने मानिन्छ । विदेश नीति निर्माणमा लामो अनुभवको संयोजन, वास्तविक आधार, आत्मगत परिस्थितिले भूमिका खेलेको हुन्छ र यो परिस्थिति अनुसार परिवर्तनशील हुन्छ । विदेश नीति राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्ने महत्वपूर्ण औजार हो । जस्तो की नेपाल भारत र चीन जस्ता दुई विशाल र उदाउँदो छिमेकी राष्ट्रहरुको बीचमा रहेकाले नेपालको स्वतन्त्र अस्तित्व र राष्ट्रिय हितको संरक्षण र सम्र्बद्धन लागि ति दुवै छिमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गरेर मात्र सम्भव हुन जान्छ । नेपालका वरिष्ठ परराष्ट्रविद स्वर्गीय यदुनाथ खनालले राजनीतिक अवस्था र विकासोन्मुख अवस्थाले नेपालको बिदेश नीति कठीनाइपूर्ण गम्भिर र सम्वेदनशील बनाएको भनी “नेपालको सहकार्य पूर्ण विदेशी नीति” पुस्तकमा उल्लेख गरेका छन् । त्यस्तै प्रा.डा. सुरेन्द्र के.सी. का अनुसार भूराजनीतिक अवस्थितिको कारण नेपालले असंलग्न र तटस्थ परराष्ट्र नीति अंगाल्नु अपरिहार्य देखिन्छ ।

नेपालको विद्यमान विदेश नीति र राष्ट्रिय हित

कुनै पनि राष्ट्रको कस्तो विदेश नीति अंगिकार गर्ने भन्ने कुराको आधार उक्त राष्ट्रको राष्ट्रिय स्वार्थ के के हुन् भन्ने कुराले निर्धारण गर्दछ । नेपालको वर्तमान संविधानको धारा ५ (१) को अनुसार राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रियता, राष्ट्रको प्रतिष्ठा र नेपाली जनताको अधिकारलाई संरक्षण गर्नु सीमा सुरक्षा गर्नु, राष्ट्रलाई समुन्नती र समृद्धिको पथमा अगाडि बढाउनु नेपालको राष्ट्रिय हितको प्राथमिक तत्वहरु हुन् । त्यस्तै विश्व शान्तिको लागि योगदान गर्नु नेपालको माध्यमिक राष्ट्रिय स्वार्थ हो । नेपालको संविधानको धारा ५१ (ड) का अनुसार नेपालको स्वतन्त्र विदेश नीति संयुक्त राष्ट्र संघको बडापत्र, असंलग्नता, पञ्चशीलका सिद्धान्तहरु, अन्तराष्ट्रिय, कानुन र विश्व शान्तिका मूल्य र मान्यतामा आधारित हुने कुरा उल्लेख गरिएको छ । त्यस्तै नेपालको विदेश नीति राष्ट्रको समग्र हितमा केन्द्रित रहने र देशको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधिनता र राष्ट्रिय हितको संरक्षणमा केन्द्रित हुने उल्लेख गरिएको छ । तत्कालीन संविधान सभा सदस्य अमिक शेरचन अध्यक्ष रहेको विघटित पहिलो संविधान सभामा गठित राष्ट्रिय हित संरक्षण समितिको प्रारम्भिक प्रतिवेदनको अनुसार नेपालको विदेश नीति मुख्यतः ३ वटा निर्धारक तत्वहरु छन् । पहिलो कुरा नेपालको सार्वभौमिकता र अखण्डता, स्वाधीनताको रक्षा गर्ने राष्ट्रिय हितको प्रवद्र्धन गर्नु आदि विदेश नीतिका सामान्य साधारण र वस्तुगत निर्धारक तत्वहरु हुनु । दोस्रो कुरा भूगोल, इतिहास, जनसंख्या र प्राकृतिक स्रोतहरु नेपालका परराष्ट्र नीतिका विशेष निर्धारक तत्वहरु हुन् । तेस्रो कुरा अन्तराष्ट्रिय संगठनहरु विश्व जनअभिमत र अन्य राष्ट्रका क्रिया प्रतिक्रियाहरु नेपालको बिदेश नीतिका बाह्य निर्धारक तत्वहरु हुन् । त्यस्तै असंलग्नता, छिमेकी राष्ट्रहरुसँग समदूरीको सम्बन्ध, पञ्चशीलको परिपालना, तटस्थता, क्षेत्रीय सहयोग, भूपरिवेष्ठित, राष्ट्रहरुको अधिकार, साना राष्ट्रहरु र अति कम विकसित राष्ट्रहरुको अभियानमा सहभागिता र सहयोग, एक राष्ट्रले अर्को राष्ट्रमाथि गर्ने दमन र भेदभावको विरुद्ध प्रतिरोधहरु, विवादहरुको शान्तिपूर्ण समाधान, अन्तराष्ट्रिय सहकार्य, विश्वको नयाँ आर्थिक प्रणालीको अनुसरण, निःशस्त्रीकरणमा जोड र स्वतन्त्र स्वाधिन देश निर्माण गर्ने नीति आदि नेपालको परराष्ट्र नीतिको मुख्य विशेषताहरु हुन् ।

नेपालको विदेश नीतिका विद्यमान समस्याहरु

पर्याप्त आर्थिक स्रोत र साधनको अभावमा नेपालले समग्र राज्य संयन्त्र सञ्चालन गर्नका लागि वैदेशिक सहायतामा निर्भर रहनु परेको छ । साथै नेपालको आन्तरिक स्रोत र साधनको परिचालनले प्राथमिकता पाउन सकेको छैन । त्यस्तै राजनीतिक नेतृत्व अन्य छिमेकी राष्ट्रहरु सँगको सीमा समस्या लगायतका समस्याहरु समाधान गर्न त्यति धेरै इच्छुक नदेखिएको आभास मिलिरहेको छ । राजनीतिक दलहरु र तीनका नेतृत्व वर्गका बीचमा परराष्ट्र नीतिको आधारभूत सवालहरुमा समझदारी हुन नसक्नु आफैमा कमजोरी हो । त्यसले बिदेश नीतिको सन्दर्भमा राष्ट्रिय सहमति निर्माणमा गम्भिर समस्या पैदा गर्दै आएको देखिन्छ । प्रा.डा. राम कुमार दाहालका अनुसार बैदेशिक सहायताको बढ्दो दुरुपयोगले अन्तराष्ट्रिय जगतमा नेपालको छवि धुमिल्याइरहेको छ । उहाँको अनुसार नेपालमा वैदेशिक लगानीका अधिकांश हिस्सा उचित र सही क्षेत्रमा खर्च गरिएको देखिदैन । विदेश नीति सञ्चालन गर्दा अन्ध रूपले कुनै अमुक राष्ट्रतर्फ ढल्किने प्रवृति नेपालको विदेश नीतिको अर्को समस्या रहदै आएको छ । त्यस्तै परराष्ट्र मन्त्रालय र यसको संयन्त्रमा प्राविधिक विकास र सुदृढीकरणको अभाव विदेश नीतिको अर्को समस्या हो ।

पदमलाल विश्वकर्मा संयोजक रहेको तत्कालिन व्यवस्थापिका संसदको अन्तर्राष्ट्रिय तथा मानव अधिकार समितिको २०११ को प्रतिवेदन अनुसार परराष्ट्र मन्त्रालयको संस्थागत सुधार, मन्त्रालयको कर्मचारी र राजदूतहरुको नियुक्ति, कुटनीतिक आचारसंहिताको कार्यान्वयन, वाणिज्य दूतावासको सेवा, राहदानी सेवा र विदेश स्थित कुटनीतिक नियोगहरु, महावाणिज्य दूतहरुको नियुक्ति परराष्ट्र मामिला संस्थान र अन्तर मन्त्रालय सहकार्य आदि कुराहरुमा समस्याहरु विद्यमान रहेका छन् । साथै उक्त समितिको अनुसार नेपालको विदेश नीतिमा विद्यमान र सो सम्बन्धि निकाय र संयन्त्रहरु र आधारहरु निर्धारण गरिनु पर्ने, राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा जोड दिइनुपर्ने, छिमेकी देशहरुको सम्बन्धलाई विशेष ध्यान दिइनुपर्ने, बिदेश नीति सञ्चालनका लागि राष्ट्रिय सहमतिमा जोड दिइनुपर्ने, अन्तराष्ट्रिय कुटनीतिक संयन्त्रमा पहुँच र बिस्तारमा सुरुवात गरिनुपर्ने, सीमा कुटनीतिलाई थप मजबूतीका साथ अगाडी बढाउनुपर्ने, छिमेकी र मित्र राष्ट्रहरु सँगको बहुपक्षिय, त्रिपक्षीय र द्विपक्षीय सन्धिहरुको समीक्षा गरिनुपर्ने, श्रम कुटनीति, विकास कुटनीति आदिलाई थप प्राथमिकीकरण र गुणस्तरीय बनाउनुपर्ने विश्वव्यापीकरणका गलत असरहरुको न्यूनिकरण गरिनुपर्ने राजनीतिक स्थायित्वमा जोड दिइनुपर्ने दिगो राष्ट्रिय सहमतिका आधारहरु तयार गर्नुपर्ने आर्थिक कुटनीतिलाई प्राथमिकीकरण गर्नुपर्ने र गैरआवासिय नेपालीहरुको सुरक्षामा विशेष ध्यान दिनुपर्ने लगायतका सुझावहरु नेपाल सरकारलाई प्रदान गरेको थियो ।

नेपालका विदेश नीतिका चुनौतिहरु

प्रा.डा. राम कुमार दाहालका अनुसार नपाली परराष्ट्र नीतिका भारत फ्याक्टर, चीन फ्याक्टर, अमेरिका फ्याक्टर, संयुक्त राष्ट संघ फ्याक्टर, युरोपेली संघ फ्याक्टर, अमेरिकी तत्व, शरणार्थी समस्या र अन्तराष्ट्रिय दातृ निकायहरुबाट नेपालमाथि दिइने दबाब आदि नेपालका परराष्ट्र नीतिका बाह्य चुनौतीहरु हुन् भने राजनीतिक अस्थिरता, आर्थिक दुर्वलता, सामाजिक, साँस्कृतिक द्वन्द्व र विशृंखलता, प्रशासनिक अस्थिरता र सुस्तता आदि नेपालको पर राष्ट्र नीतिका आन्तरिक चुनौतीहरु हुन् । अर्का तर्फ छिमेकी राष्ट्रहरुसँग सन्तुलित सम्बन्ध कायम गर्नु, विश्व समुदायबाट समर्थन जुटाउनु, अन्तराष्ट्रिय छविलाई बढावा दिनु, नेपाल जस्ता भूपरिवेष्ठित, अति कम विकसित र विकासोन्मुख राष्ट्रहरुको हितलाई बढावा दिनु, छिमेकी राष्ट्रहरु भारत र चीनसँगको सन्धि र सम्झौताहरुलाई समय सापेक्ष परिमार्जन गर्नु, भारतसँगको सीमा समस्या समाधान गर्नु र क्षेत्रीय अन्तराष्ट्रिय स्तरमा विकसित हुदै गइरहेका अन्तर्राष्ट्रिय सवालहरुमा प्रभावकारी ढंगले पेश हुनु आदि मुख्य चुनौतिहरु नेपालको विदेश नीतिका चुनौतिहरु हुन् । त्यस्तै राजनीतिक सुरक्षा, जलवायु परिवर्तन जस्ता मुद्दाहरुको बारेमा आफ्नो पक्षबाट विश्व स्तरका र क्षेत्रिय मञ्चहरुमा बहस पैरवी गर्ने र अन्य राष्ट्रहरूबाट आफ्ना मुद्दाहरूमा समर्थन जुटाउने चुनौति पनि नेपालको बिदेश नीतिको चुनौति हो । त्यस्तै समय र सन्दर्भ अनुरुप बिदेश नीतिको परिमार्जन र सुधार जनभावना र जनचाहना अनुरुप अन्तराष्ट्रिय सम्बन्ध कायम गर्नु, विश्वमा शान्ति, सुरक्षा र पारस्परिक हित र सह–अस्तित्वको भावना वृद्धिमा योगदान पु¥याउनु, राष्ट्रलाई बैदेशिक हस्तक्षेपबाट मुक्त राख्दै विदेशीहरूको क्रिडास्थल बन्नबाट जोगाउनु, राष्ट्रको बिदेश नीति निर्माणमा राष्ट्रिय सहमतिको निर्माण गर्नु, संयुक्त राष्ट्र संघीय प्रणालीमा नेपालको गौरवपूर्ण र सक्रिय भूमिका स्थापित गर्नु, छिमेकी राष्ट्रहरु भारत, चीन तथा अन्य राष्ट्रहरुसँग भूगोल, इतिहास, सामाजिक, साँस्कृतिक र आर्थिक आयामहरुको आधारमा सौहार्दपूर्ण सम्बन्धको विकास गर्नु, छिमेकी र अन्य मित्र राष्ट्रहरुसँग भएका सन्धि सम्झौताहरुलाई आवश्यकता अनुसार पुनरालोकन र नवीकरण गर्नु र भुटानी र तिब्बती शरणार्थी तथा आप्रवासीहरुको समस्या कुटनीतिक तवरबाट समाधान गर्नु आदि चुनौतिहरु नेपालको परराष्ट्र नीतिका विद्यमान चुनौतिहरु हुन्  ।

निष्कर्ष र सुझावहरु

राजनीतिक अस्थिरता, आर्थिक विपन्नता, सीपयुक्त तथा पूर्णप्रशिक्षित कुटनीतिज्ञको अभाव, परम्परागत प्रशासन यन्त्र, कुटनीतिज्ञहरु र राजनीतिज्ञहरुमा मनोवैज्ञानिक पक्षको दुर्बलता, राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप, आधुनिक प्रविधियुक्त परराष्ट्र सम्बन्धी निकायको अभाव, छिमेकीहरु (विशेषतः भारत र चीन) सँग असन्तुलित सम्बन्ध आदि समस्याहरु नेपालको विदेश नीतिमा व्याप्त छन् । माथि उल्लेखित समस्याहरु समाधान गर्नका लागि नेपालका राजनीतिक पक्षहरुबीच विदेश नीतिका सन्दर्भमा राजनीतिक समझदारी कायम गर्ने र विश्वव्यापीकरणका सकारात्मक नकारात्मक प्रभावबाट बच्दै सकारात्मक प्रभाव ग्रहण गर्न जरुरी देखिन्छ । त्यस्तै बैदेशिक सहायताको सही सदुपयोग गर्नु, बहुपक्षीय र द्विपक्षीय सन्धि सम्झौताको पुनरालोकन र नवीकरण, सार्क र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा अर्थपूर्ण सहभागिता र भूमिका कुटनीतिक, सीप, कला र कौशलको विकास, राजनीतिक स्थायित्वमा जोड, अन्तर मन्त्रालय स्तरीय सहकार्यमा जोड, परराष्ट्र मन्त्रालय र मातहतका निकायहरुको संस्थागत सुधार, विदेश मामलाका सम्बन्धी विज्ञहरुको समूहको गठन, छिमेकी राष्ट्र भारतसँगको खुला सीमानाको व्यवस्थापन, सीमा कुटनीतिको विकास र अभ्यास व्यवस्थापन, अभिलेखीकरण व्यवस्थापन, प्राकृतिक स्रोतहरुको उपयोग मार्फत आर्थिक र समग्र पक्षमा सुधार, कुटनीतिक आचार संहिताको अक्षरस परिपालना, आत्मनिर्भर आर्थिक प्रणालीको विकास, शरणार्थी समस्याका कुटनीतिक तवरबाट समाधान आदि कुराहरुमा जोड दिनुपर्दछ ।

निचोडमा भन्नुपर्दा, नेपालले आफ्नो राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन तथा बिदेश नीतिका उद्देश्यहरुको प्राप्ति आर्थिक कुटनीतिको कुशलतापूर्वक र सफलतापूर्वक सञ्चालन गरेर मात्र गर्न सक्ने देखिन्छ । नेपालको सन्दर्भमा बैदेशिक रोजगार, छिमेकी राष्ट्रहरुसँगको व्यापार सम्बन्ध औद्योगिक विकास, औद्योगिक क्षेत्रमा विदेशी लगानीको विस्तार, पर्यटकीय क्षेत्रको विकास, जलस्रोतको उपयोग र विकास, कृषि र वन क्षेत्रको प्राथमिकीकरण र उन्नयन आदिबाट नेपाल सबल र समृद्ध राष्ट्रको रूपमा रूपान्तरण हुन सक्तछ । त्यसर्थ नेपालले आफ्नो विदेश नीतिलाई सामाजिक–आर्थिक विकास, आफ्ना छिमेकी राष्ट्रहरुसँगको सन्तुलित सम्बन्ध, संयुक्त राष्ट्र संघ सार्क र अन्य अन्तराष्ट्रिय मञ्चहरुमा सक्रिय र प्रभावकारी ढंगबाट आफ्नो उपस्थिति जनाएर र विदेशी प्रभाव र प्रभुत्वबाट राष्ट्रलाई बचाएर नै आफ्नो राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धन गर्न र बिदेश नीतिको लक्ष्यहरुको प्राप्त गर्ने बाटोमा अग्रसर हुन सक्ने देखिन्छ ।

(लेखक अन्तराष्ट्रिय सम्बन्ध तथा कुटनीति, राजनीति शास्त्र , इतिहास ,समाज शास्त्र र कानून विषयका अध्ययता एवम अधिवक्ता हुनुहुन्छ ।)

सम्बन्धित खवर

Back to top button