जाजरकोटमा जीप दुर्घटना : वडाध्यक्षसहित ७ को मृत्यु, १ गम्भीर

जाजरकोट, २१ असोज : जाजरकोटमा आज दिउँसो साढे १ बजेतिर भे-१ ज ९३५ नम्बरको जीप दुर्घटना हुँदा ७ जनाको ज्यान जानुका साथै १ जना गम्भीर घाइते भएका छन् । जुनिचाँदेगाउँपालिका-१, मुसामार्ना भन्ने स्थानमा जीप दुर्घटना हुँदा ७ जनाको ज्यान जानुकै साथै १ जना गम्भीर घाइते भएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रत्यक्षदर्शी जुनीचाँदे-१ का स्थानीय शेर बहादुर रावतका अनुसार ज्यान गुमाउनेमा जुनीचाँदे-११ नम्बर वडाका वडाध्यक्ष अन्दाजी ४९ वर्षीय अमरबहादुर शाही, सोही वडाका अन्दाजी ६५ वर्षीय कृति बहादुर शाही र वडा नम्बर ५ कि अन्दाजी १९ वर्षीय मालिका बस्नेतको ज्यान गएको छ । त्यस्तै गरी अहेवद्वय जुनिचाँदे-६ का कृष्ण बहादुर शाही र जुनिचाँदे-११ का खेमराज शाहीको ज्यान गएको छ । त्यस्तै लालबहादुर बुढाको पनि ज्यान गएको छ । अन्य १ जनाको पहिचान हुन नसकेको प्रत्यक्षदर्शी रावतले सत्कार पोस्टलाई जानकारी दिए ।

उनका अनुसार अन्दाजी ४९ वर्षीय नरबहादुर बुढा गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पतालतिर लिंदै गरेको बताए । उनी शिक्षक रहेको खुल्न आएको छ ।नाम खुल्न नसकेका एक मृतक घाइते बुढाका छोरा रहेको स्थानीय रावतले जानकारी दिए ।

कति यात्रु सवार थिए ? भन्ने कुरा समेत खुल्न नसकेको उनले बताए । उनले भने, “जीप टुक्राटुक्रा भएर खोलामा छ, नम्बर प्लेट कति हो थाहा छैन्, यात्रु कति चढेका थिए त्यो पनि थाहा छैन्, ५ वटा लास खोलाकिनारमा यत्रतत्र छरिएका छन्, दुईजनाको लास खोलाले बगाउँदै थियो ।

पालिकाको बैठकमा खटिएको असाई नेतृत्वको प्रहरी टोली घट्नास्थलमा पुगेपनि दुर्घटनामा परेकाहरुको उद्धार हुन नसकेको स्थानीय रावतले जानकारी दिए । मृतकका आफन्त घटनास्थल पुगेर ढुङ्गामुढा गर्नेसम्मको स्थिति सिर्जना भएको उनको भनाइ छ । उनले उद्धारमा समस्या हुने देखिएपछि घटना स्थलतर्फ ईलाका प्रहरी कार्यालय गर्खाकोटबाट थप सुरक्षाकर्मी आउन थालेको सूचना प्राप्त भएको बताएका छन् ।

उता जीप चालक जुनिचाँदे- ५ का गोरख बहादुर बस्नेत फरार रहेको रावतले बताए ।

सम्बन्धित खवर

Back to top button