बाँकेमा कोरोना संक्रमित भई मृत्यु हुनेको संख्या एक प्रतिशत नाघ्यो

नेपालगञ्‍ज २५, २०७७ असोज : बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुने दर एक प्रतिशत नाघेको छ। सय जना संक्रमितमध्ये १ दशमलव १ जनाको उपचारको क्रममा मृत्यु भएको छ। उपचारमा रहेकामध्ये २२ जनाको अवस्था गम्भीर छ। त्यसैगरी, सय जनाको स्वाब परीक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ। बाँकेमा हालसम्म २८ हजार २ सय ७० जनाको स्वाब परीक्षण गर्दा २ हजार ३ सय ६९ जनामा संक्रमण देखिएको छ। पछिल्ला दिनहरुमा संक्रमित हुनेहरुको संख्या तीव्र गतिमा बढ्दै गएको छ। थप दुई संक्रमितको मृत्युयसैबीच नेपालगञ्‍जमा कोरोना भाइरस संक्रमित शनिबार राति थप दुईजना बिरामीको मृत्यु भएको छ। नेपालगञ्‍जका ८४ वर्षीय पुरुष र कोहलपुरकी ७१ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्‍जमा उपचारका क्रममा शनिबार राति मृत्यु भएको हो। मृतक ८४ वर्षीय पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आशंकामा असोज ६ स्वाब परीक्षण गरिएको थियो। असोज ७ गते कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पतालमा भर्ना भएका उनलाई स्वास्थ्यमा सुधार नआएपछि भेन्टिलेटरमा राखेरसमेत उपचार गरिएको थियो ।त्यस्तै, कोहलपुरकी ७१ वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि कोरोना आशंकामा असोज १४ गते स्वाब परीक्षण गर्दा कोभिड पोजिटिभ रिर्पोट आएपछि अस्पताल भर्ना भएकी ती महिलालाई रोगको प्रकृतिअनुसार नेपालगञ्‍जमा उपलब्ध सबैखाले उपचार गरेको भए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ। पाँच मिनेटको फरकमा मृत्युवरण गरेका दुवैमा श्वासप्रश्वासको समस्या र कडा खालको कोरोना संक्रमण रहेको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । भेरी अस्पताल नेपागन्ज प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा अहिलेसम्मकै धेरै संक्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा ४ सय १२ नमुना परीक्षण गरिएकोमा एक सय ३ जनामा भाइरस संक्रमण फेलामा परेको हो। अस्पतालले आजको परीक्षण रिपोर्टले कोरोना भाइरस संक्रमण समुदायस्तरमा आक्रामक रुपमा फैलिएको भन्दै सचेत रहन सर्वसाधारणलाई अपिल गरेको छ। स्वास्थ्य सुरक्षाका लागि सरकारले जारी गरेका मापदण्ड कडाइका साथ पालना गर्न भेरी अस्पतालले आग्रह गरेको छ ।

सम्बन्धित खवर

Back to top button