कोरोना संक्रमितलाई परीक्षामा राख्न नसकिने मैनालीकाे भनाई

काठमाडौं, २८ असोज : लोकसेवा आयोगले सञ्चालन गर्ने परीक्षामा कोभिड–१९ संक्रमितहरू सहभागी हुन नपाउने भएका छन् । आयोगले संक्रमितहरू परीक्षामा बस्न नपाउने मापदण्ड तयार पारेपछि यस्तो अवस्था आएको हो । आयोगको यो मापदण्डले संक्रमितमाथि अन्याय भएको कतिपयको टिप्पणी छ । संक्रमितहरूको मानवअधिकारप्रति संवेदनशील नभएको आरोप पनि आयोगमाथि लागेको छ ।

संक्रमितले परीक्षा दिन नपाउने मापदण्डले उनीहरुको मानव अधिकार हनन भएन र ? यस्तो प्रश्न राख्दा लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले रोचक जवाफ दिए । कात्तिक १८ देखि लोकसेवाको परीक्षा हुने भएकाले अहिले नै संक्रमित भएकाहरुलाई आत्मबल दह्रो बनाएर चाँडो निको हुन मैनालीले सुझाए ।

‘जसलाई संक्रमणै भएको छैन, तपाईंहरू कमसेकम हाम्रै लागि भए पनि कोरोनाबाट जोगिनुस्’ आयोगका अध्यक्षले भने, ‘कोरोनाका कारणले तपाईंको परीक्षा छुट्दा उमेश मैनाली खुशी हुनुपर्ने कुनै कारण छैन ।’

“आयोग संवेदनशील नभएको होइन, कुनै विकल्प नभएपछि यो निष्कर्षमा पुगेका हौं । यो निर्णय पर्याप्त छलफलपछि गरेका हौं । अहिलेको अवस्थामा हामी संक्रमितहरूको परीक्षा लिन सक्ने अवस्थामा छैनौं “, मैनालीले भने “पहिलो कुरा, कुनै पनि विद्यालयले संक्रमितलाई राखेर परीक्षा सञ्चालन गर्ने भनेपछि भवन दिन मान्दोरहेनछ । आज पनि सेनाका अधिकारीहरूसँग कुरा भयो । तर, परीक्षा हल उपलब्ध हुने सम्भावना देखिनँ ।”

परीक्षामा कर्मचारी, सुरक्षाकर्मी खट्नुपर्ने र पीपीई नै लगाए पनि जान नमाने जबरजस्ती पठाउन नसकिने जसरी पनि जानुपर्छ भन्दा परीक्षार्थीको जस्तै कर्मचारीको पनि मानवअधिकारको प्रश्न आउन सक्ने मैनालीले बताए ।  

उत्तरपुस्तिकाबाट पनि कोरोना सर्ने सम्भावना रहन्छ । त्यसलाई निश्चित समयसम्म आइसोलेट गरेर राख्दा फेरि गोप्यताको प्रश्न आउन सक्छ । त्यसकारण, यो आयोगको रहर नभई बाध्यता हो भनेर बुझिदिनुपर्ने  मैनालीले प्रष्ट पारे । 

प्रहरी निरीक्षकको परीक्षा सञ्चालन गर्दा पीसीआर परीक्षण अनिवार्य गरिएको थियो । अन्य परीक्षाहरूमा पनि कोभिड–१९ संक्रमित नभएको रिर्पोट ल्याउनुपर्ने व्यवस्था गरिएका छन् । त्यतिबेला मिडियाले विरोध गरेको सुनिएन । तर, लोकसेवाकै परीक्षाको मात्रै चर्चा भइरहेको छ । हामीले पीसीआर परीक्षण अनिवार्य  भनिइको छैन् ।

कोरोना कहिलेसम्म नियन्त्रणमा आउँछ भन्ने कसैलाई पनि थाहा छैन । यो अनन्तकालसम्म पनि जान सक्छ । त्यसकारण, कोरोना नसकिँदासम्म स्थगन गर्ने भन्ने कुरा आउँदैन । फेरि, केही परीक्षार्थीलाई हेरेर स्थगन गर्दा त्योभन्दा ठूलो संख्या परीक्षा दिने अधिकारबाट बञ्चित हुन्छन् । यो वर्ष अन्तिमपटक परीक्षा दिँदै रहेछन् भने त उनीहरूको उमेर जान्छ । त्यसकारण, यसलाई एउटै कोणबाट मात्रै हेर्दा अपूरो हने उनले बताएका छन् ।

 

सम्बन्धित खवर

Back to top button