माटोको ढिस्को खसेर महिला मजदुरको मृत्यु


जाजरकोट २६ माघ : जिल्लाको शिवालय -९ भिस्थापा स्थित सडककाे काम गरिरहेको अवस्थामा माटोको ढिस्को खसेर एकजना महिला मजदुरको ज्यान गएको छ । सोमबार बिहान करिब साढे ११ बजेतिर माटोको ढिस्को खस्दा सडक मर्मतकाे काम गरिरहेकी स्थानीय ५५ वर्षीय बिर्मी बुढाको घटनास्थलमै ज्यान गएको शिवालय -१ का स्थानीय पूर्ण बहादुर महताराले जानकारी दिए ।

घटनास्थलका प्रत्यक्षदर्शी मजदुरहरुका अनुसार सडकमाथी गाडि गुडिरहेकोले त्यसकै थरथरले जाली भर्न माटो खनेर ओराल पारेको ढिस्को खसेर उनको घटनास्थलमै ज्यान गएको हो । उनीहरुले भने, “सबैभन्दा पहिले ढिस्को खस्न लागेको थाहा पाएर हामीलाई भागभाग भन्दै दौडिन लागेको अवस्थामा उनलाई माथिबाट स्वाम्मै पुरेको हो ।” आफ्नो ज्यान फालेर आफूहरुलाई बचाएको मजदुरहरु बताउँछन् । उनीहरुले काप्दै भने, “उनले थाहा पाएर नचिच्याएको भए सबैको एउटै चिहान हुने रहेछाैं ।”

सडक पहुँच कार्यक्रम अन्तर्गत करिब दुईसाता अघि सडक मर्मतको काम सुरु गरेकै बेला यो अप्रिय घटनाले दुखित तुल्याएको वडाअध्यक्ष दीपक खड्काले बताए।

अध्यक्ष खड्काका अनुसार जोखिम अवस्थाको काम भएकोले सुरक्षा सामग्रीका साथ तीन ग्रुपका ५६ जना मजदुर परिचालन गरिएको थियो । ग्रुप ‘ए’ ‘बी’ र ‘सी’ विभाजन गरि क्रमशः २०, १८,१८ जना कामदार परिचालन गरिएको उनले जानकारी दिए ।

उनले, भने “बिग्रे, भत्केको सडक मर्मत सम्भार गर्नै आट्दा बीचमै अकल्पनीय घटनाले स्तब्ध बनाएको छ ।” अन्य मजदुरलाई आग्रह गर्दै भने, “जोखिम मोलेर काम गर्नुपर्ने भएकोले उच्च सावधानीका साथ काम सम्पन्न गर्न सबैमा अनुरोध गर्दछु ।”

सडक मर्मतको काम गरिरहेको अवस्थामा माटो ढिस्को एक्कासी खस्दा पुरिएर महिला मजदुरको ज्यान गएको प्रहरीले पुष्टि गरेको छ । यतिखेर मुचुल्का उठाउने काम सकिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पोस्टमार्टमका लागि जिला अस्पताल खलंगा लिने तयारी गरिएको छ ।











