एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न

मकवानपुर, १३ फागुन : एक दिने कन्ये च्याउ खेतीसम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । श्री कालिका माध्यमिक विद्यालय तथा प्राविधिक शिक्षालय इन्द्रसरोवर- ४ फाखेलचौर मकवानपुरको आयोजनामा बिहीबार (१३ गते ) एक दिने च्याउ खेती सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण कार्यक्रममा कक्षा १० का शिक्षकविद्यार्थी, विद्यालय ‌व्यवस्थापन समितिका सदस्य तथा अभिभावक गरी लगभग ५० जनाको सहभागिता रहेको थियो । प्रशिक्षण कार्यक्रममा कन्ये च्याउ उत्पादन गर्नलाई टनेल निर्माणदेखि भित्र्याउनेसम्मका तरिकाहरुको बारेमा प्रशिक्षण दिइएको थियो । कार्यक्रमको प्रशिक्षण विद्यालयका प्रशिक्षक रवि भट्ट र नवराज खत्रीले गरेका हुन् ।

शिक्षक, अभिभावक र विद्यार्थीबीच राम्रो सहकार्यको विकास गर्न तथा अभिभावक समक्ष प्राविधिक शिक्षाको महत्त्वबोध गराउन यस कार्यक्रमको आयोजना गरिएको विद्यालयको प्रधानाध्यापक मानबहादुर स्याङतानको भनाई छ । अर्का शिक्षक सानुकान्छा लामा भन्छन्, ” सैदान्तिक शिक्षाभन्दा प्रयोगात्मक शिक्षा प्रभावकारी हुने भएकाले यस कार्यक्रमको आयोजना गरिएको हो ।” यस कार्यक्रमले नयाँ प्रविधिको प्रसार गरी विद्यार्थी तथा अभिभावकलाई व्यावसायिक च्याउ खेतीतर्फ अभिप्रेरित गर्न सहयोग गर्ने विद्यालयको कृषि प्राविधिक प्रशिक्षक सन्देश कुइकेलको भनाई छ।

सैदान्तिक शिक्षा र प्रयोगात्म शिक्षामा नितान्त फरक रहेको, किताबको माध्यमबाट प्राप्त गरिने ज्ञान याद गर्न गाह्रो हुने तर प्रयोगात्मक तरिकबाट सिक्दा लामो समयसम्म याद गर्न सहज हुने भएकाले यस्तो सुनौलो अबसर जुराइदिएकोमा सहभागी विद्यार्थीहरुले विद्यालयलाई धन्यबाद दिएका छन् । आफ्ना छोराछोरीलाई घरैबाट प्राविधिक शिक्षा निशुल्क पढाउन पाउँदा र आफूले पनि प्रत्यक्ष सहभागी भएर सिक्न पाउँदा निकै खुसी भएको अभिभावकहरुले बताएका छन् ।

कृषि प्राविधिक शिक्षा कक्षा सन्चालनको लागि बार्षिक ५० लाख जति खर्च गर्दै आएको र आवश्यक परे अझ थप गर्न सकिने विद्यालय ‌व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर स्याङ्तानले बताएका छन् । स्याङ्तान भन्छन्, ” लामो समयदेखि विद्यालय ‌व्यवस्थापन समितिमा बसेर काम गर्दै गर्दा यस अन्तरालमा धेरै विद्यार्थी उत्पादन गर्यौँ तर अहिलेको सन्दर्भमा साधारण धारको भन्दा प्राविधिक धारको शिक्षा बढी प्रभावकारी थानेर २ बर्ष अगाडिदेखि यस विद्यालयमा पनि प्राविधिक शिक्षा सन्चालन गरेका हौँ । अबको पाँच वर्षपछि इन्द्रसरोवर -४ नम्बर वडामा प्रत्येक घरमा दक्ष कृषि प्राविधिक हुने छ जसले कृषि पेशालाई आधुनिकीकरण र व्यवसायीकरण गर्नुका साथै यस स्थानका युवाहरु स्वरोजगार बन्ने र अरुलाई पनि रोजगार दिने छन् जसले युवाहरुको भविष्य उज्ज्वल बनाउनुका साथै नेपालको विकासमा सहयोग गरी ‘सुखी नेपाली, समृद्ध नेपाल’ र ‘खुसी किसान, समृद्ध नेपाल’ भन्ने नारा पनि सफल हुनेछ । ” अध्यक्ष स्याङ्तान अझ थप्छन्, “प्राविधिक शिक्षालाई ध्यानमा राखी विद्यालयमा प्रशिक्षक र सह-प्रशिक्षकका लागि आवासको पनि व्यवस्था गरेका छौं । केहि समय पछि विद्यार्थी आवासको पनि व्यवस्था गर्दै छौँ । त्यसपछि विद्यालयको जमिनलाई सदुपयाेग गरेर कृषि वस्तु उत्पादन गरी कृषि उपजलाई बजारसम्म पु¥याउने र त्यसबाट भएको आम्दानी विद्यार्थी र विद्यालय दुवैलाई हुनेछ । हाम्रो उद्देश्य अरु विद्यालयमा शिक्षा प्राप्त गर्नलाई विद्यार्थीहरु घरबाट रुपैयाँ लिएर जान्छन् भने हामी विद्यालयबाट विद्यार्थीलाई रुपैयाँ दिएर घर पठाउनु हो ।”

सम्बन्धित खवर

Back to top button