नेपाल नागरिक उधम सहकारीको हार्दिक शुभकामना


गोरख बि.वि.,बैशाख,१,कोहलपुर:-
नयाँ वर्ष–२०७८ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै वर्ष २०७७ लाई बिदा गरेर नयाँ वर्ष २०७८ लाई स्वागत गर्दै छौँ । सामान्यतया लाग्छ,एउटा वर्ष सकिनु र अर्काे वर्ष सुुरु हुनु स्वभाविक प्रक्रिया हो,मात्र एउटा ‘क्यालेन्डर’को पाना फेरिएजस्तो । तर, वास्तविकता त्यस्तो हुँदैन । व्यक्ति, समाज वा देशमा बितेको वर्षभरिका घटना र आगामी वर्षका सम्भावनाको आफ्नै महत्व हुन्छ । एउटा व्यक्ति,समाज वा राष्ट्रले बितेको वर्षबाट धेरै शिक्षा लिन सक्छ । र,आगामी वर्षमा कसरी अघि बढ्ने भन्नेबारे मार्गचित्र बनाउँछ ।
विश्वमा हाम्रो देश नेपालको छुट्टै पहिचान छ । नेपाल विश्वकै सर्वोच्च भू–स्वर्गको रुपमा विराजमान छ । हामीलाई प्रकृतिले संसारको उच्च शिखर सगरमाथा मात्र दिएकी छैनन् । दरबारको सुखसयललाई त्याग गर्दै विश्वलाई शान्तिको सूत्रमा बाँध्न सक्ने गौतम बुद्धलाई पनि नेपाल आमाले नै जन्म दिएकी हुन् । एसियाका तारा रुपमा प्रसिद्ध गौतम बुद्धको जन्मभूमि मात्र नभएर नेपाल माता सीताको जन्मभूमि र कैलाशपति श्रीमहादेवको तपोभूमि पनि हो ।



विश्वमै सांस्कृतिक रुपमा अलग्गै पहिचान बनाएको नेपालमा अब नयाँ वर्ष २०७८ मा प्रवेश गरी सकेको छ । वसन्त ऋतुको आगमनसँगै प्रकृतिका रुख–विरुवाले पालुवा फेर्दै छन् । रुखले पालुवा फेरेझैँ हाम्रो घर–घरका भित्तामा झुण्डिएका भित्तेपात्रो पनि फेरिँदै छन् । प्रकृतिका सन्तति वृक्षहरुले पुराना र सडेगलेका पात फेरेझैँ हामी नेपालीले पनि पुरानो वर्ष २०७६मा जानेर वा अञ्जानवश गरेका नकारात्मक चिन्तन र विकृतिलाई परित्याग गर्दै नयाँ जोस, जाँगर र ऊर्जाका साथ अघि बढ्न सकौँ । नववर्ष २०७८ले हाम्रा सदस्य एवं सम्पूर्ण शुभचिन्तकहरुमा सुख, समृद्धि र अमनचयन प्रदान गर्न सकोस् भन्ने कामना गर्दछौँ ।
विश्वभर महामारीका रुपमा आएको दोस्रो चरणको कोरोनाले अहिले मानवजगत् आक्रान्त बने देखिएको छ। विश्वभरका कैयौँ मानिस जीवन परित्याग गर्न बाध्य भएका छन् । कैयौँ मानिस यस संक्रमणका कारण अस्पतालका बेडमा मृत्युसँग लडाइँ लडिरहेका छन् । यस अवस्थामा नेपाली नववर्षले सबैलाई यो रोगसँग लड्न सक्ने रोगप्रतिरोधात्मक क्षमता दियोस् ।
हामीले हाम्रा सदस्य ज्युहरु बाट पाएको माया साथ सपोर्ट, हौसला त्यसै मर्न दिने छैनौँ, यो हाम्रो प्रण हो । नयाँ वर्ष २०७८ सबैको हर्ष र उत्साहको वर्ष बनोस् । विश्वले कोरोनाबाट मुक्ति पाओस् भ्रष्टाचार र कुरीतिका घटना अहिलेजस्तो सुन्न नपरोस्, प्राकृतिक प्रकोप र अप्रिय घटना नदोहोरियून् । नयाँ वर्ष २०७८ को पावन अवसरमा नेपाल नागरिक उद्यम सहकारी संस्था लिका सम्पूर्ण शेयरधनी महानुभाव साथै सम्पूर्ण मान्यजन, स्वदेश तथा विदेशमा रहनुहुने आमाबुबा, दाजुभाइ, दिदीबहिनी, शुभचिन्तक सबैमा उन्नति, प्रगति,सुख, समृद्धिका साथ हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।
यसपालिको नयाँ वर्ष अघिल्ला वर्षजस्तो कार्यक्रम गरेर मनाउन नसके पनि कोरोनासँग जुधेर विजय प्राप्त गरेपछि नयाँ उमंग, नयाँ जोश,,नयाँ जागर, नयाँ खुशी, नयाँ प्रगति, नयाँ वहार, नयाँ सपना नयाँ आयाम, नयाँ पलसँगै अर्को नयाँ वर्ष हर्षोल्लासले मनाउँला । पुनः सबैमा नयाँ वर्षको मंगलमय शुभकामना !!!
नेपाल नागरिक उद्यम सहकारी संस्था लि.
कोहलपुर-११,बाँके








