सभापतिको साझा उम्मेदवार बनाएर जिताउँछौं, देउवालाई बिदा गर्छौं : रिजाल


काठमाडौं,२४ मंसिर : नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले संस्थापन इतरबाट सभापतिको साझा उम्मेदवार बनाएरै छाड्ने दाबी गरेका छन्। बिहीबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै रिजालले संस्थापन इतर समूहबाट सभापति पदका लागि साझा उम्मेदवार बनाएरै छाड्ने बताएका हुन्। ‘हिजोको चाक्सीबारीको तिक्ततापछि झनै साझा उम्मेदवार बनाउनुपर्छ भन्ने भएको छ। हामी हाम्रो समूहबाट साझा उम्मेदवार बनाएरै छाड्छौं,’ रिजालले भने। सभापति शेरबहादुर देउवाको विकल्प आवश्यक रहेकोले आफूहरू यसका लागि क्रियाशील रहेको उनले जिकिर गरे। रिजालले १४ औं महाधिवेशनबाट सभापति देउवालाई बिदा गर्ने दाबी पनि गरे।‘हामी साझा उम्मेदवार बनाउँछौँ। अंक गणित पनि त्यही हो, काँग्रेसको राजनीति पनि त्यही हो। महाधिवेशन प्रतिनिधिहरू नेतृत्व फेर्ने गरी आउनु भएको छ,’ उनले भने, ‘हामी साझा उम्मेदवार उठाएर शेरबहादुर देउवालाई आभार प्रकट गर्दै नयाँ सभापतिमा अरूलाई ल्याउन तयार छौं। उहाँलाई बिदा गर्छौं।’ रिजालले साझा उम्मेदवार चयनमा देखिएको सकसबारे पनि जवाफ दिए। ‘हाम्रो पार्टी कम्युनिष्ट होइन काँग्रेस हो। बिपी पनि चुनाव लड्दा सर्वसम्मत भएनन्,’ उनले भने, ‘प्रतिस्पर्धाको परम्परा रहेकाले यो वा त्यो पदमा बस भन्ने कुरा होइन। सकस पर्छ लोकतान्त्रिक प्रक्रियामा जाँदा।’











