कांग्रेस सभापति पदमा शेरबहादुर देउवा निर्वाचित

काठमांडौ,२९ मंसिर : नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा विजयी हुनु भएको छ । एको दोस्रो चरणको मतदानमा अर्का प्रत्यासी डा. शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति पदमा निर्वाचित हुनु भएको हो ।

दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत प्राप्त गर्नु भएको थियो भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत प्राप्त गर्नु भएको थियो । ३५ मत भने बदर भएको छ ।

पहिलो चरणको मतदानमा ४ हजार ६ सय ७९ मत खसेकामा हिजो दोस्रो चरणमा घटेर ४ हजार ५ सय ७४ मत मात्रै खसेको थियो । पहिलो चणमा कुनैपनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान भएको हो । पहिलो चरणमा देउवा विरुद्ध उभिएका प्रकाशमान सिंह, बिमलेन्द्र निधि र कल्याण गुरुङले दोस्रो चरणमा देउवालाई सहयोग गर्ने निर्णय गरेपछि उनको जितको आधार तयार भएको थियो ।

विसं २००३ साल जेठ महिनामा डडेलधुरामा जन्मनुभएका देउवा काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघका दोस्रो अध्यक्ष बन्नुभएको थियो । देउवाले नेविसंघमा करिब १० वर्ष नेतृत्व गर्नुभयो । पार्टी राजनीतिमा सुरुमा गिरिजाप्रसाद कोइरालाले अघि बढाएका देउवाले पोखरामा सम्पन्न पार्टीको १० औं महाधिवेशनमा कोइरालालाई नै नेतृत्वका लागि चुनौती दिनुभएको थियो ।

२०५९ सालमा देउवाको नेतृत्वमा काँग्रेस विभाजन भएर नेपाली कांग्रेस प्रजातान्त्रिक बनेको थियो । उक्त पार्टीको ११ औं महाधिवेशनमा उहाँ सर्वसम्म सभापति चयन हुनुभयो । २०६४ मा देउवा नेतृत्वको पार्टीले कांग्रेससँग एकता ग¥यो । एकतापछिका १२ औं महाधिवेशनमा देउवा सुशिल कोइरालासँग पराजित हुनुभयो ।

२०७२ सालमा भएको तेह्रौँ महाधिवेशनमा तत्कालीन पार्टी उपसभापति रामचन्द्र पौडेललाई हराएर देउवा कांग्रेसको पार्टी सभापतिमा निर्वाचित हुनुभयो । देउवाले अहिले पाँचौ पटक प्रधानमन्त्री भएर मुलुक हाँकीरहेको अवस्था छ । समीकरण निर्माणमा खप्पिस देउवाले कांग्रेसको पहिलो, दोस्रो, तेस्रो र चौंथो पुस्ताको टीम बनाएर १४ औं महाधिवेशनमा उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

सम्बन्धित खवर

Back to top button