वाइड बडी जहाज आजदेखि सिधा जापान


काठमाडाैं : नेपालबाट सिधै जापनकाे ओसाका लागि राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आज रातिदेखि (भदौ १२ गते) व्यावसायिक उडान सुरु गरेको छ । नेपाल वायु सेवा निगमको वाइड बडी ए ३०३० जहाजले पहिलोपटक ओसाका लागि सिधा उडानको औपचारिक सुरुआत गरेको हो । याे सँगै निगमले जापान उडान १३ वर्षपछि पुनः सुचारु गरेकाे हो । यसअघि अक्टोबर ३० सन् १९९४ निगमले ओसाका उडान सुरु गरेको थियो । जुन उडान काठमाडौं र चीनको साङ्घाई हुँदै जापानको ओसाका थियो । अप्रिल १२ सन् २००७ मा जहाज अभाव भएको भन्दै निगमले ओसाका उडान बन्द गरेको थियो ।
बुधबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले जापन उडानकाे लागि उद्घाटन गरेका थिए । विमानस्थलमा औपचारिक उद्घाटनपछि वाइड बडी जहाजले विहान २ः३० बजे ओसाका गन्तब्य उडान गरेको हाे । करिव सात घण्टाको उडान पछि ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा ध्वजाबाहक जहाज अवतरण भएकाे छ । त्यहाँ पनि औपचारिक उद्घाटन कार्यक्रम गरिएकाे छ ।

ओसाका उडानमा पर्यटनराज्यमन्त्री धनबहादुर बुढा, छ जना सांसद, मन्त्रालयका उच्च अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरण र निगमका प्रतिनिधि तथा सरकारी सञ्चारमाध्यम राष्ट्रिय समाचार समिति (रासस) र नेपाल टेलिभिजनका प्रतिनिधि भ्रमण टोलीमा सहभागी छन् । ओसाका उडानका लागि सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए । उनका अनुसार ओसाकाको पहिलो उडानमा यात्रु तथा भ्रमण टोलीका सदस्यसहित १३० जना सवार छन् ।



निगमले २७४ यात्रु क्षमताको वाइड बडी ए ३३०–२०० जहाजबाट साताको तीन मङ्गलबार, बिहीबार र शनिबार काठमाडौं–ओसाका नियमित उडान गर्ने जनाएको छ । निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौं–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको छ । उक्त गन्तव्यमा दुई तर्फी भाडा रु ७२ हजार ८१४ कायम गरिएको छ । यो प्रवद्र्धनात्मक भाडा दर हो । एक महिनापछि नयाँ भाडादर कायम गरिने निगमले जनाएको छ । काठमाडौंदेखि ओसाका उडानको समयावधि छ घण्टाको छ भने ओसाका–काठमाडौं साढे सात घण्टाको उडान हुनेछ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार विमानस्थलको मर्मतको काम भइरहेको सन्दर्भमा निगमको उडान अवधिमा आधा घण्टा विमानस्थल खुला गरिनेछ । विमानस्थलको ‘ट्याक्सी वे’ को मर्मतको काम आगामी सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म चल्ने छ । उक्त अवधिमा निगमको उडान हुने तीन दिन ३० मिनेट विमानस्थल सञ्चालन गरिनेछ । जहाज उड्ने दिन राति २ बजे विमानस्थल सञ्चालन गरी राति २ः३० बजे पुनःबन्द गरेर काम गरिनेछ ।








