नेपाल-युएई बीच हवाई सम्झौता


काठमाडौं, १२ असोज : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच हवाई सेवा सम्झौता भएको छ । महासभामा नेपालका तर्फबाट सहभागी भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र युएईका अर्थमन्त्री सुल्तान बीन साइद अल्मान्सोरीले शनिबार हवाई सेवा सम्झौतामा हस्ताक्षर गरेका हुन ।
क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो ।



हवाई सम्झौतासँगै दुई देश बीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउन मद्दत पुगेको पर्यटनमन्त्री भट्टराईले सामाजिक सञ्जालमार्फत जनाएका छन । “दुबै देशले अन्तर्राष्ट्रिय नियम तथा अनुबन्धनहरुको परिपालना गर्दै दुई देशबीचको हवाई सेवालाई थप सुरक्षित र विश्वासिलो बनाउनुका साथै सहयोगको आदनप्रदान गर्न मद्दत पुग्नेछ ।
“यो सम्झौता पत्रको तयारीमा लाग्नुभएका दुबै देशका सम्बद्ध अधिकारीलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु”, मन्त्री भट्टराईले आफ्नो फेसबुकवालमा पोष्ट गरेका थिए । उनले हवाई सम्झौताले एक अर्को देशलाई सहयोग गर्ने वातावरण निर्माण हुनुका साथै नेपाल भ्रमण वर्ष २०२० अभियानलाई समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
एक सय ९३ देशका झण्डैं दुई हजार बढीको सहभागिता रहेको आइकाओ महासभामा आफ्नो सहभागिता र आफूले त्यहाँ व्यक्त गरेका धारणाले भ्रमण वर्षको प्रचार र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थिति देखाउन सहयोगी भूमिका निभाएको मन्त्री भट्टराईले उल्लेख गरेका छन । उनले भ्रमण वर्ष सफल पार्न सेवा प्रवाहलाई गुणस्तरीय बनाउनुपर्नेमा जोड दिँदै पछिल्लो समय गरिएको कार्यक्रम फलदायी बनेको बताएका छन ।
भ्रमण वर्षको प्रवद्र्धनका लागि भ्रमण वर्ष शुरुवात कार्यक्रममा नेपालमा विभिन्न देशका राष्ट्रप्रमुख तथा नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगका अधिकारीलाई बेलाइने जानकारी गराउँदै उनले विश्वका विभिन्न राष्ट्रमा रहेका नेपाली दूतावास तथा नियोगमार्फत ती देशका राष्ट्रप्रमुख तथा अधिकारीलाई बोलाएर विभिन्न देशमा कार्यक्रम गरिने बताए ।








