सन्दीप लामिछाने ‘द हन्ड्रेड’ खेल्दै: आधार मूल्य १ लाख पाउण्ड


काठमाडौं : इङ्ल्यान्ड र वेल्समा हुने नयाँ फर्म्याटको क्रिकेट ‘द हन्ड्रेड’को लागि विदेशी खेलाडीको अन्तिम ड्राफ्टमा सन्दीप लामिछाने समेटिएका छन् । पहिलो पटक हुन लागेको प्रतियोगितामा विदेशी खेलाडीको कोटामा टेस्ट राष्ट्र बाहेकका अन्य देशमा नेपालका लेग स्पीनर सन्दीप लामिछाने मात्र ड्राफ्टमा परेका हुन्।
उनको आधार मूल्य १ लाख पाउन्ड (नेपाली रुपैयाँ १ करोड ४७ लाख) रहेको छ। यो उनका लागि अहिलेसम्मकै ठूलो पारिश्रमिक हो । सन्दीप बराबरको आधार मूल्य तोकिएका चर्चित क्रिकेटरमा अफगानिस्तानका रसिद खान, अस्ट्रेलियाका चर्चित अलराउण्डर ग्लेन म्याक्सवेल, वेस्ट इन्डिजका आन्द्रे रसेल, अस्ट्रेलियाका आरोन फिन्च लगायत छन् ।



यो आधार मूल्य पाकिस्तानका बाबर अजाम, दक्षिण अफ्रिकाका डेभिड मिलर, श्रीलंकाका डिमुथ करुणारत्ने जस्ता भन्दा २५ हजार पाउन्डले बढी हो । त्यसैगरी दक्षिण अफ्रिकाका इमरान ताहिर, क्रिस मोरिस, न्युजिल्याण्डका मार्टिन गुप्टिल भन्दा ४० हजार बढी हो।
ड्राफ्टमा सन्दीपभन्दा बढी आधार मूल्य रहेका खेलाडीमा वेस्ट इन्डिजका क्रिस गेल, दक्षिण अफ्रिकाका कगिसो रबाडा तथा श्रीलंकाका लासिथ मालिंगा रहेका छन् । त्यस्तै अस्ट्रेलियाका तीन खेलाडी स्टीभ स्मिथ, मिचेल स्टार्क र डेभिड वार्नर पनि बढी आधार मूल्य भएका खेलाडी हुन् । उनीहरूको आधार मूल्य १ लाख २५ हजार पाउन्ड रहेको छ।
यसअघि सन्दीप नोभेम्बर १५ देखि २४ सम्म हुने टी–१० प्रतियोगितामा कर्नाटका टस्कर्रसमा अनुबन्ध भएका छन्। उनलाई कर्नाटकाले ४५ हजार अमेरिकी डलरमा आफ्नो टिममा आबद्ध गराएको हो। इङ्ल्यान्ड र वेल्सका विभिन्न आठ सहरको नामका क्लबहरूले प्रतियोगितामा भाग लिने छन् । सबै क्लबले ३/३ जना खेलाडी छानिसकेका छन्।
‘द हन्ड्रेड’ नयाँ फर्म्याट
क्रिकेट खेलमा यो नयाँ फर्म्याट हो । यसमा हरेक इनिङमा १ सय बल हुन्छ । १० बलपछि स्टम्प परिवर्तन हुन्छ। बलरले एकपटकमा ५ वा १० बल गर्न पाउँछ भने एक खेलमा २० बल मात्र गर्न पाउँछ।
यसैगरी २५ बलको पावरप्ले खेल हुन्छ । पावरप्ले अवधिमा दुई जना फिल्डर ३० यार्डभन्दा बाहिर बस्न पाउँछन्।








