जुम्लामा फलेको इटालियन स्याउको माग अत्याधिक


गोविन्द विक्रम शाही
जुम्ला : जुम्लामा फलेको इटालियन स्याउको माग अत्याधिक बढेको छ । स्थानीय स्याउको भन्दा फरक स्वाद भएकोले जुम्लामा फलेको इटालियन स्याउको माग बजारमा अत्याधिक बढेको हो ।
तातोपानी गाउँपालिका वडा नम्बर- ८, डुंग्रीका कृषक मान बहादुर शाहीले इटालियन स्याउको माग अत्याधिक भएको बताएका छन् । आफूले फलाएको स्याउले बजारको माग धान्न नसकेको शाहीले बताए । उनले आफ्नो बगैंचामा रोपेको ७ सय ओटा बिरुवाबाट यो वर्ष मात्रै डेड लाख रुपैयाँ आम्दानी भएको बताएका छन् ।



जुम्ला बजारमा मात्रै इटालियन स्याउको मूल्य १५० रुपैयाँ केजी रहेको स्थानीय हरिना शाहीले बताइन् । कृषक शाहीका अनुसार लगाएकै वर्ष फल्ने विशेषता भएकोले इटालीबाटै यसको विरुवा नेपाल भित्र्याइएको हो ।
दुई वर्ष अगाडी देखि इटालियन स्याउ खेती गरेका शाहीले आफ्नो बगैंचामा ७ सय ओटा बिरुवा रोपेको बताए । उनले फागुनमा रोपेर बैशाख देखि फूल्न थालेको बताए । उनका अनुसार यसको सरदर आयु ३० देखि ४० वर्षसम्म हुने गर्दछ भने यो बिरुवा ८ देखि १० फिट अग्लो हुन्छ ।
नेपालसम्म पुर्याउँदा प्रति विरुवाको मूल्य १५ सय रुपैयाँ पर्न गएको शाहीले बताए । उनलाई इटालीबाट उक्त बिरुवा जुम्लासम्म पुर्याउन दुई महिना लागेको थियो ।








