प्रधानमन्त्रीको निजि सचिवालयमा नयाँ सल्लाहकार नियुक्त


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीको निजि सचिवालयमा नयाँ सल्लाहकार थपिएका छन् । शुक्रबार प्रधानमन्त्री ओलीको सचिवालयमा नयाँ सल्लाहकारहरु नियुक्त भएका हुन्। मन्त्रिपरिषदको शुक्रबार राति बसेको बैठकले प्रधानमन्त्री ओलीको प्रेस सल्लाहकारमा सूर्य थापालाई नियुक्त गरेको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्रीको आर्थिक मामिला सल्लाहकारमा पूर्वसचिव लालशंकर घिमिरे र विकास विज्ञमा इन्जिनियरसमेत रहेका गजेन्द्र थपलियालाई नियुक्त गरिएको छ।
मन्त्रिपरिषदको शुक्रबारको बैठकको निर्णय भने आगामी बिहीबार मात्रै सार्वजनिक हुनेछ। प्रधानमन्त्री ओलीको प्रे’स सल्लाहकार नियुक्त भएका थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख हुन्। प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कार्यरत डा. कुन्दन अर्यालले दिएको राजीनामा स्वीकृत गर्दै थापालाई उक्त पदमा नियुक्त गरिएको हो।



थापा यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको पनि प्रेस सल्लाहकार बनिसकेका व्यक्ति हुन्। नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका उनी नवयुग, बुधबार साप्ताहिकको पूर्वसम्पादकसमेत हुन्। उनलाई राज्यमन्त्रीसरहको सुविधा दिनेगरी नियुक्त गरिएको हो। आर्थिक मामिला सल्लाहकार घिमिरे भने पूर्वसचिव हुन्। उनी राजश्व सचिवबाट अवकास पाएका पूर्वकर्मचारी हुन्।
प्रधानमन्त्री ओलीले सचिवालयबाट हालै राजीनामा दिएका ६ जनालाई विदाइ गरेका छन्। उनले प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र वैदेशिक मामिला सल्लाहकारमा डा. राजन भट्टराईलाई यथावत राखेका छन्।








