‘द भ्वाइस अफ नेपाल’ सिजन टु को विजेता राम लिम्बू


काठमाडौं : ‘द भ्वाइस अफ नेपाल’ सिजन २ को विजेता राम लिम्बू बनेका छन् । उनी तीनजना प्रतिस्प’र्धीलाई पछि पार्दै द भ्वाइस अफ नेपाल सिजन टु को बिजेता बनेका हुन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको चर्चित रियालिटी शोको दोश्रो सिजनको विजेता राम बनेका हुन् ।

‘द भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए । कोच प्रमोद खरेलबाट अगाडि बढेका लिम्बूले कोच राजु लामा, कोच दीप श्रेष्ठ र कोच आस्था राउतका कन्सटेन्टहरुलाई पछि पार्दै उक्त उपाधी हात पारेका हुन् ।

उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । उनले उक्त उपाधी चुमेसँगै रु १२ लाख रुपैयाँको चेक तथा कार पुरस्कार पाएका छन् । साथै, म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ ।

काठमाडौंको पाँच तारे होटल हायातमा फाइनल कार्यक्रम आयोजना भएको थियो । हजारौं दर्शकको बीचमा फाइनल कार्यक्रम आयोजना भैरहँदा दर्शकमा विजेता को बन्छ भन्ने उत्साह समेत थियो । बेलुकी सात बजेबाट ११ बजेसम्म हिमालय टीभीले यो कार्यक्रम प्रत्यक्ष प्रशारण समेत गरेको थियो ।

अघिल्लो वर्ष विदेशमा फिनाले गरिए पनि यो वर्षको भ्वाइस अफ नेपाल सिजन टु भने नेपालमै सम्पन्न गरिएको हो । गतबर्ष कोच दीपको टिमबाट सीडी विजय अधिकारीले यो चर्चित रियालिटी शोको पहिलो बिजेता बनेका थिए ।
















