देशभर हिउँदे झरी, उच्चपहाडी भूभागमा हिमपात

काठमाडौं : मंसिर सकिनै लाग्दा देशभर हिउँदे झरी शुरु भएको छ । शुक्रबार बिहानदेखि राजधानी काठमाडाैं लगायत देशभर पानी पर्नुका साथै उच्चपहाडी भूभागमा हिमपात भएको छ।

नेपालमा पश्चिमी वायुका कारण हिउँदे झरी र हिमपात हुने गर्छ। अफगानिस्तान र इरानमा बन्ने न्यूनचापीय वायु सुदुरपश्चिमबाट प्रवेश गरेपछि नेपालमा हिउँदे झरी र हिमपात पर्ने गर्छ। बर्खेझरी भने बंगालको खाडीमा बन्ने मनसुनी वायु फैलिएपछि पूर्वी क्षेत्रबाट शुरु हुनेगर्छ। आज शुक्रबार दिनभरजसो नै काठमाडौं उपत्यकालगायत देशभर पानी तथा हिमपात पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान छ।

यतिखेर तराई, पहाडी क्षेत्रमा समेत पानी परिरहेको छ भने उच्च पहाडी र हिमाली क्षेत्रमा हिउँ परिरहेको छ। देशको पश्चिमी भेगमा नै पश्चिमबाट भित्रिएको मौसम प्रणालीको बढी अ’सर देखिएको छ। मौसम बदलीकै कारण आज पश्चिम क्षेत्रमा हावाहुरी चल्ने महाशाखाले जनाएको छ। मौसम बदलीको प्रभाव आइतबारसम्म कायम रहने महाशाखाले निकालेको मौसम बुलेटिनमा उल्लेख छ।

पानी पर्न शुरु गरेपनि काठमाडौं उपत्यकाको तापक्रम भने बिहीबारको तुलनामा शुक्रबार बढेको छ। बिहिबार बिहान ७ दशमलव ७ डिग्री रहेको काठमाडौंको तापक्रम शुक्रबार बिहान ९ डिग्री सेल्सियस पुगेको छ। राती आकाशमा बादल लागेपछि बिहीबार दिउँसोको तापक्रम थुनिएकाले तापक्रम बढेको महाशाखाले जानकारी दिएको छ।

सम्बन्धित खवर

Back to top button