अमेरिकी एयर बेसमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण


पुस २३, २०७६ – इराकमा अमेरिकी सैनिक रहँदै आएको अल असद एयर बेसमा इरानले मिसाइल आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले इरानले इराकमा रहेको दुईवटा सैनिक क्याम्पमा १२ वटा भन्दा धेरै मिसाइल आक्रमण गरेको जनाएको छ। आक्रमण बारे अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल ब्रिफिङ भइरहेको छ। आक्रमणमा भएको क्षति बारे कुनै सूचना सार्वजनिक गरिएको छैन। इरानको सरकारी टेलिभिजनमार्फत पहिलोपटक आक्रमणको समाचार प्रसारण भएको थियो। इरानले अमेरिकाको साथ दिए आफूविरुद्ध उभिने कुनै पनि राष्ट्रमाथि आक्रमण गर्न सक्ने चेतावनी दिएको छ। शुक्रवार इराकमा अमेरिकाले गरेको हवाई आक्रमणमा इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो। इरानले त्यस लगत्तै कस्सिमको ुहत्याु को बदला लिने घोषणा गरेको थियो। इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो। अमेरिका र इरानबीच बढ्दै गएको तनावले मध्यपूर्वमा युद्धको खतरा सिर्जना भएको छ। यसैबीच आक्रमणपछि नाटो र क्यानडाले इराकमा रहेका आफ्नो सैनिकलाई स्थानतरण गर्ने घोषणा गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आफ्ना सैन्य कमान्डरको ज्यान गएकाले त्यसको बदलास्वरूप प्रतिआक्रमण गरिएको इरानी रिभोलुसनरी गार्डको भनाइ छ ।
उसले अमेरिकालाई सहयोग गर्दै आएकाहरुलाई पनि आक्रमण गर्ने चेतावनी दिएको छ । इराकस्थित सैन्य क्याम्पहरुलाई स्थानीयले आवासलगायतका पूर्वाधारमा सहयोग गर्दै आएका छन् ।
आफ्ना सैन्य अखडामा भएको आक्रमणबारे अहिलेसम्म ट्रम्पले धारणा सार्वजनिक गरिसकेका छैनन् । यद्यपि, हृवाइटहाउसले एक विज्ञप्ति जारी गर्दै इरानलाई कसरी जवाफ दिने भन्नेबारे परामर्श भइरहेको जनाएको छ ।



‘इराकमा रहेका अमेरिकी सेनामाथि भएको आक्रमणको रिपोर्टले हामी सतर्क छौं । राष्ट्रपति डोनाल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराएर राष्ट्रिय सुरक्षा समूहसँग परामर्श गरिरहेका छौं’, हृवाइट हाउसकी प्रवक्ता स्टेफनी ग्रिसमले विज्ञप्ति जारी गर्दै भनेकी छन् ।
गत शुक्रबार बग्दादस्थित विमानस्थलमा अमेरिकाले गरेको ड्रोन आक्रमणमा इरानी सैन्य कमान्डर कासिम सुलेमानीसहित ६ जना मारिएका थिए । घटनापछि इरान र अमेरिकाबीचको कटुता उत्कर्षमा पुगेको छ । इरानले आफ्ना सैन्य कमान्डरको हत्याको बदला लिने पूर्वघोषणा अनुरूप आक्रमण थालेपछि मध्यपूर्व अशान्त बन्न लागेको भन्दै चिन्ता व्यक्त हुन थालेका छन् ।








