कोरोना भाइरसको जोखिम बढेपछि मास्क र सेनिटाइजर कालोबजारी गर्ने चार जना पक्राउ


कोहलपुर
२०७६,चैत ९
मास्क र सेनिटाइरजस्ता स्वास्थ्य सामग्रीको मूल्य अत्यधिक राखी बिक्री गर्ने चार व्यापारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ। मास्कको कालोबजारी गर्ने दुईजना र सेनिटाइजरको कालोबजारी गर्ने दुईजना पक्राउ परेका हुन्। जनकपुरधाम उपमहानगरपालिका ४ स्थित सुस्मिता मेडिकलबाट सर्लाही बरहथवा नगरपालिका ८ का सञ्जय साह र सोही ठाउँमा रहेको सम्पूर्ण मेडिकलबाट स्थानीय अर्का सञ्जय साह समातिएका हुन्। यस्तै, जनकपुरधाम उपमहानगरपालिपका ८ भमरपुरा चोकस्थित अलट फार्मेसीबाट लक्ष्मीनिया गाउँपालिका ३ का अनिल यादब र महोत्तरीको जलेश्वर नगरपालिका ६ का प्रभन्स चौधरीलाई पनि पक्राउ गरिएको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेको छ। धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले मास्क र सेनिटाइजरको कालोबजारी भइरहेको सूचनाको आधारमा चारजना व्यापारीलाई पक्राउ गरिएको जानकारी दिए। 












