एसईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई आयो यस्तो सुझाव


काठमाडौं : माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने तयारीमा रहेका विद्यार्थीहरुलाई अनावश्यक तनाव नलिएर तयारी गरेर बस्न शिक्षा मन्त्रालयले आग्रह गरेको छ । एकएक परीक्षा स्थगित भएपछि विद्यार्थी निराश भएका थिए । शनिबार ‘लकडाउन’को १२ दिन भैसकेको छ । यसअघि स्थगित भएको परीक्षाको नयाँ तालिका ‘लकडाउन’ खुलेपछि मात्रै आउने भएकोले अहिले घरमै बसेर तयारी गर्न विद्यार्थीलाई शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सुझाव दिएका छन् । नयाँ तालिका कहिले आउँछ ? सरकारले यसअघि घोषणा गरेअनुसार चैत २५ गतेसम्म ‘लकडाउन’ छ ।
‘लकडाउन’ पूर्णरूपले खुलेको कम्तीमा २ हप्ताको अवधिमा नयाँ परीक्षा तालिका आउने राष्ट्रिय परिक्षा बोर्डले जनाएको छ । परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई डर, त्रास र हल्लामा नपरी तयारीमा ध्यान दिन शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले आग्रह गरेका छन् । उनले भने, ‘परीक्षाको नयाँ तालिका अहिले नै आउँदैन । त्यसैले अफवाहमा ध्यान नदिई पर्याप्त तयारीमा लाग्नुस् ।’ घरमै बसेर परीक्षाको तयारी गर्दा रेडियो, टेलिभिजन तथा अनलाइन माध्यममा परीक्षाको तयारीका लागि आवश्यक पाठ्यसामग्री उपलब्ध रहेको उनले बताए ।



सम्भव हुनेले उपलब्ध भएका ती पाठ्यसामग्री हेर्न र सुन्न तथा सम्भव नहुनेले फोनमा शिक्षक तथा साथीहरुलाई सोधेर तयारी गर्न उनको सुझाव छ । कोरोना नि’यन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिले स्वास्थ्य क्षेत्रका विज्ञसँग स’ङ्क्रमणको जोखिमबारे परिस्थितिको विश्लेषण गरेर अनुकूल अवस्थापछि आवश्यक निर्णय गर्ने भन्दै शर्माले अहिले घरमै बसेर तयारी गर्नुपर्ने बताए ।
एउटा परीक्षा केन्द्रमा तीन सयसम्म विद्यार्थी हुने भएकाले समूहमा निस्कन तथा भेला हुन मिल्ने वातावरण बनेपछि मात्रै परीक्षाको नयाँ तालिका आउने र सार्वजनिक माध्यमबाट जानकारी गराउने शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार नयाँ तालिका र मिति विद्यार्थीलाई घरबाट टाढाको परीक्षा केन्द्र पुग्न, बस्ने व्यवस्था मिलाउन र अरु बन्दोबस्त गर्न पुग्नेगरी तय हुनेछ ।
परीक्षाको आधिकारिक तालिका र मिति पछि तय हुने भएकोले भ्रममा नपर्न उनको आग्रह छ । ‘नयाँ तालिका शिक्षा मन्त्रालय र परीक्षा बोर्डले समन्वय गरी सार्वजनिक गर्नेछन्,’ उनले भने, ‘अहिले पहिले पढेका विषय दोहोर्याउने, प्रविधिको प्रयोग गरेर नबुझेका कुरा सिक्ने र शिक्षकसँग फोनमा सोध्ने गरेर विद्यार्थीहरुले परीक्षाको पूर्ण तयारी गर्नुपर्छ ।’ विद्यार्थीलाई अनावश्यक तनाव नलिन र अभिभावकले पनि परीक्षा तयारीमा रहेका आफ्ना बालबालिकालाई तनाव नदिन उनको आग्रह छ ।








