कारागार र बाल सुधारगृहबाट ३सय५ जनालाई रिहा


कोहलपुर

२०७६,२३ चैत्र



मुलुकका विभिन्न कारागार र बाल सुधारगृहबाट ३सय५ जनालाई रिहा गरिएको छ। कारागारमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम कम गर्न एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका बालबालिका तथा कैदीबन्दीलाई रिहा गरिएको कारागार व्यवस्थापन विभागले जनाएको छ। मुुुलुकका विभिन्न बाल सुधारगृहबाट एक वर्षभन्दा कम कैद अवधि बाँकी रहेका १सय७४ जना बालबालिका र कारागारबाट १सय३१ गरी जम्मा ३सय५ जनालाई बिहीबारसम्म रिहा गरिएको जानकारी कारागार व्यवस्थापन विभागका महानिर्देशक प्रदीपराज कणेलले दिए। उनका अनुसार सुधारगृहमा रहेका बालबालिकालाई अदालतको रोहबरमा आमाबाबु वा अभिभावकको जिम्मा लगाइएको छ। कारागारबाट छुट्न पाऊँ भन्दै बिहीबारसम्म ३सय४६ जनाले विभिन्न कारागारमा निवेदन दिएका थिए। बाँकी निवेदनमाथि आवश्यक कारबाही अगाडि बढाइएको उनले बताए। सर्वोच्च अदालतले दिएको आदेश अनुसार मुद्दाको अन्तिम टुङ्गो लागेकाकहरू रिहा भएका हुन्। पुनरावेदन चलिरहेका मुद्दाका कैदीबन्दी भने अहिलेको अवस्थामा रिहा हुन नसक्ने उनले स्पष्ट पारे।








