धेरै संक्रमित भेटिएको सुदूरपश्चिममै ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ


डडेधुरा २३ चैत्र : काेराेनाबाट सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढि संक्रमित भेटिएपनि सरकारले ‘कन्ट्याक्ट ट्रेसिङ’ मा हेलचेक्राइँ गरेको पाइएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतका स्वास्थ्य कार्यालय, स्थानीय तह र प्रहरीलाई कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा दिईएपनि हेलचेक्राइँ गरिएको हो।
पहिलो संक्रमित धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षिय युवकका सम्पर्कमा रहेका व्यक्तिलाई समेत अहिलेसम्म निगरानीमा राख्न सकिएको छैन्। ती युवक युएईको दुबई हुँदै भारतको राजधानी दिल्ली र दिल्लीबाट काठमाडौँ हुँदै नेपालगञ्ज भएर स्थलमार्गबाट धनगढी पुगेका थिए।



सो क्रममा उनले भेटेका अधिकासंलाई सम्पर्कमा ल्याईएको ‘कन्ट्याक्ट ट्रेसिङ’ को जिम्मा पाएका स्वास्थ्य कार्यालय कैलालीका जनस्वास्थ्य निरिक्षक महेश चन्दले बताए । उनले प्रदेश स्वास्थ्य निर्देशनालय, सामाजिक विकास मन्त्रालय हुँदै संघीय सरकारलाई जानकारी गराईएको बताए।
‘तीन जना नयाँ संक्रमित भेटिएपछि आज विहान ८ बजेदेखि नै ‘कन्ट्याक्ट ट्रेसिङ’ को काम थालिएको छ। ‘कन्ट्याक्ट ट्रेसिङ’का क्रममा सम्पर्कमा आएका व्यक्तिले दिएको विवरणका आधारमा आइसोलेसन वा क्वारेन्टाइनमा राखी संक्रमण जाँचका लागि छुट्याउने गरेका छौ।’ चन्दले भने।
संक्रमितको सम्पर्कमा आएका अधिकासंको ‘कन्ट्याक्ट ट्रेसिङ’ भएको दावी गरिएपनि त्यस्तो भेटिएको छैन्। अहिलेसम्म पहिलो संक्रमितको सम्पर्कमा रहेका १० जनाको मात्रै नमूना संकलन गरिएको छ। ती मध्ये ७ जनाको रिपोर्ट नेगेटिभ आईसकेको छ भने एक जनाको पोजेटिभ र बाँकी दुई जनाको रिपोर्ट आउन बाँकी छ।
बाँके नेपालगञ्ज भएर धनगढी पुग्दासम्म संक्रमितको सम्पर्कमा आएका कसैलाई पनि निगरानीमा राखिको छैन्। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले पनि ‘कन्ट्याक्ट ट्रेसिङ’ जोड दिईएको बताए। उनले वडा कार्यालयहरुको समन्वयमा संक्रमितका सम्पर्कमा आएका व्यक्तिलाई सम्पर्कमा ल्याउने काम भईरहेको बताए । संक्रमित व्यक्ति आफू संक्रमण भएदेखि को–कोसँग सम्पर्कमा आयो भनेर पत्ता लगाउन ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिन्छ। तत्पश्चात् उनीहरूलाई निगरानीमा राखिन्छ।








