ब्रिटिश प्रधानमन्त्रीलाई सघन कक्षबाट बाहिर निकालियो


एजेन्सी : कोरोना संक्रमित ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनलाई सघन उपचार कक्षबाट बाहिर निकालिएको छ । कोरोनाभाइरसको सङ्क्रमण देखिएका जोनसन गत आइतवारदेखि लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा उपचार गराइरहेका छन्। तर उनी अस्पतालमै रहने डाउनिङ्ग स्ट्रीटले जनाएको छ ।
‘नम्बर टेन’ भनेर चिनिने प्रधानमन्त्री कार्यालयले जोनसनलाई “बिहीवार साँझ सघन उपचार कक्षबाट वार्डमा सारिएको र त्यहाँ उनलाई डाक्टरहरूले निकटमा रहेर नि’गरानी गर्ने” जनाएको छ।



प्रवक्ताले थपे: “उहाँ एकदमै राम्रो मनस्थितिमा हुनुहुन्छ।”
कोरोनाभाइरसको सङ्क्रमण देखिएको १० दिनपछि गत आइतवार प्रधानमन्त्री जोनसनलाई अस्पताल पुर्याइएको थियो र त्यसको भोलिपल्ट उनलाई सघन उपचार कक्षमा सारिएको थियो।
उपचारका क्रममा जोनसनलाई अक्जिसन दिइएको भए पनि भेन्टिलेटरमा भने नराखिएको डाउनिङ्ग स्ट्रीटले यसअघि जनाएको थियो।
उनको स्वास्थ्य स्थितिमा “क्रमिक सुधार आएको” र उपचारका क्रममा आफूले पाएको “उत्कृष्ट सेवा”का लागि उनले एनएचएसलाई धन्यवाद दिएको प्रवक्ताले बताए।
अमेरिकी राष्ट्रपति ट्रम्पले यसो भने
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जोनसनलाई सघन उपचार कक्षबाट वार्डमा सारिनु “शुभ समाचार” भएको बताए।
स्वस्थ्य मन्त्री म्याट ह्यानककले भने: “प्रधानमन्त्री सघन उपचार कक्षबाट बाहिर निस्किएर निको हुने बाटोमा लाग्नु एकदमै राम्रो भयो। एनएचएस हामी सबैका लागि हो र मलाई थाहा छ हाम्रा एनएचएसका कर्मचारीले जोनसनलाई विश्वस्तरीय सेवा दिएका छन्।”
हालै निर्वाचित लेबर नेता सर किर स्टार्मरले पनि “शुभ समाचार” को स्वागत गर्दै ट्वीट गरे: “शीघ्र स्वास्थ्यलाभको यो शुरूवात भएको आशा गर्छु।”
यसैबीच, “सेवा गर्नेका लागि ताली” नामक तेस्रो कार्यक्रममा युकेभरि मानिसहरूले एनएचएसका कर्मचारी र म’हामारीविरुद्ध अग्रमोर्चामा रहेर काम गर्ने अन्य कामदारको प्रशंसा गरेका छन्।







