‘अहिलेको अवस्थामा भिन्न अरू कुनै संयन्त्र आवश्यक छैन्’


काठमाडाैं, २९ चैत : प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको अवस्थामा सरकारभन्दा भिन्न अरू कुनै संयन्त्र आवश्यक नभएको बताएका छन्। शनिबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडिओ संवाद गरेका प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी ढंगले काम गरिरहेकोले छुट्टै अन्य संयन्त्र आवश्यक नभएको बताएका हुन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘सरकारभन्दा भिन्न कुनै संयन्त्र आवश्यक नरहेको प्रधानमन्त्रीले प्रष्ट पार्नुभयो,’ उनले भने, ‘घरमा बसेर १५ दिनका बीचमा एक पटक निर्देशन दिनेजस्तो गरी सरकारले काम गरोस् भन्ने जस्तो नगर्न सबैलाई स्पष्ट पार्नुभयो।’



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार साँझ इमेज टेलिभिजनलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीकै संयोजकत्वमा प्रतिपक्षी दलसहितको उच्चस्तरीय संयन्त्र बनाउनु पर्ने बताएका थिए । कोरोना रोकथाम तथा नियन्त्रणका लागि त्यस्तो संयन्त्र चाहिने प्रचण्डको तर्क थियो।
यसका साथै, प्रधानमन्त्रीले स्वयंसेवकहरू स्वयंसेवी भावनाले कार्य गर्ने, शारीरिक रूपमा तन्दुरूस्त र त्यसबापत कुनै लाभ नखोज्ने हुनुपर्ने बताए। लकडाउनमा प्रशासनिक लापरबाही हुनै भएन, मेला लाग्ने, मान्छे जम्मा हुने आदि क्रियाकलाप गर्न रोक्नका लागि प्रशासन र प्रहरी सजग हुनैपर्ने, त्यसका लागि केन्द्रबाटै एकरूपताको कायम गर्न परिपत्र जारी गरिने समेत उनले उल्लेख गरेको थापाले जानकारी दिएका छन्।
‘उहाँले जनतालाई दु:ख दिन होइन, जनताको जीवन रक्षा गर्न नै लकडाउन अनिवार्य रहेको बुझ्न र बुझाउन सबैलाई सचेतनाको लागि आह्वान गर्नुभयो,’थापाले फेसबुकमा भनेका छन्। सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आफ्ना प्रदेशमा कोरोनाभाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका तमाम प्रयासबारे छलफल भएको थियो।








