कोरोनाको जोखिम सुदूरपश्चिममा कायमै, भारतबाट बढी जोखिम


धनगढी, ८ वैशाख : सुदूरपश्चिमका सीमानाका भएर २३ फागुन यता भारतबाट झण्डै डेढ लाख मानिस फर्किएको सरकारी तथ्याङ्क छ। यो प्रदेशका विभिन्न नाकामा हेल्थ डेस्क स्थापना गरेदेखि लकडाउन जारी भएको ११ चैत सम्म भित्रिएकाहरुको तथ्याङ्क हो। लकडाउन भएपछि पनि सुदूरपश्चिमका सीमानाका भएर धेरै मानिस फर्किएका छन्।
ती मध्ये अधिकांश सुदूरपश्चिमकै भएको सरकारी अधिकारीहरुले बताउँदै आएका छन्। प्रदेशमा हजारौँ मानिस भित्रिएपनि सरकारले अहिले सम्म आठ हजार एक सय ५७ जनाको मात्र थ्रोट स्वाब संकलन गरेको छ। उनीहरु मध्ये पाँच जनामा कोरोना संक्रमण देखिएपनि आठ हजार ८५ को रिर्पोट नेगेटिभ आएको छ भने ५७ जनाको रिर्पोट आउन बाँकी छ।



भारतबाट फर्किएका दुईजनामा मात्र कोरोना भाईरस पोजेटिभ देखिएको छ। ती मध्ये कैलालीको लम्कीचुहा नगरपालिकाका राज विक निको भएर आईतबार सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कञ्चनपुरको वेदकोट नगरपालिकाका पुरुष सहितका चार जना सेतीमै उपचाररत छन्।
सुखद कुरा के छ भने पछिल्लो एक साता यता सुदूरपश्चिममा कोरोनाका विरामी स्थिर छन्। यो कुराले सबैलाई खुसी बनाएको छ। अर्कोतर्फ भारतबाट हजारौँको संख्यामा फर्किएकोमा कतिपयलाई एक महिना भन्दा बढि त झण्डै एक महिना पुगिसकेको छ।
यो अवधीमा कोरोना संक्रमण भएपनि निको भईसकेको हुन सक्ने भन्दै धेरैले उनीहरुबाट जोखिम कम भएको आकलन गर्न थालेका छन्।








