जिल्ला प्रशासनको लकडाउन खुकुलो बनाउने आदेश, नगरले मानेन

रौतहट, २८ वैशाख : रौतहटको स्थानीय प्रशासनले शुक्रबारदेखी बिहान १० देखी अपरान्ह ४ बजेसम्म होटेल, चियापसल, रेष्टुुरेन्ट र सार्वजनिक सवारी साधनबाहेक अन्य पसल खोल्न आदेश दिएको छ । रौतहटका प्रमुख जिल्ला अधिकरी वाशुदेव घिमिरेले संक्रमण बढन नदिन सामाजिक दुरी कायम राखेर भीडभाड नगरी खाद्यान्न लगायतका अत्यावश्यक सामान किनबेचका लागि पसल खुल्ला गर्न निर्देशन दिएका हुन् । तर सरकारले लकडाउन खुकुलो बनाएलगत्तै सार्वजनिक स्थलहरुमा भीडभाड देखिन थालेको भन्दै कटहरिया नगरपालिकाले भने लकडाउन जारी राख्ने निर्णय गरेको छ । छिमेकी मुलुक भारतबाट चोरबाटो हुँदै गाउँमा मानिसहरु आइरहेका र लकडाउन खुकुलो बनाउँदा कोरोनाको जोखिम उच्च हुने भन्दै लकडाउन जारी राख्ने निर्णय गरेको हो ।

आईतवार नगरप्रमुख सियाराम कुश्वाहाको अध्यक्षतामा व्यापारी, विभिन्न दलका प्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थकर्मी, र स्थानीय जनप्रतिनिधिसहित बसेको सर्वपक्षीय बैठकले लकडाउन यथावत राख्ने निर्णय गरेको हो । आईतबार कटहरिया बजारमा एकैपटक किनमेल गर्नेको ठुुलो जमघट देखिएकाले कोरोना भाईरस संक्रमण बढ्ने जोखिम बढ्दै गएको मेयर कुश्वाहाले टिप्पणी गरेका हुन् ।

भारतमा कोरोना भाईरसको उच्च संक्रमण भइरहेको अवस्थामा लकडाउन खुकुलो बनाउँदा जोखिम थपिने भएकाले सबैको सल्लाहअनुसार लकडाउन यथावत राख्ने निर्णय गरिएको मेयर कुश्वाहाले जानकारी दिए ।

शुुक्रवार जिल्ला प्रशासन कार्यालयले लकडाउन खुकुुलो गर्ने निर्देशन दिएसँगै जिल्ला सदरमुकाम गौर, गरुडा, चन्द्रपुर लगायत ग्रामीण बजारहरुमा मानिसहरुको भीड देखिन थालेको छ ।

कोरोना भाईरसको संक्रमणका हिसाबले प्रदेश २ का सबै जिल्ला रेडजोनमा परेका छन् । तीमध्ये सबैभन्दा बढी संक्रमित पर्सा जिल्लामा भेटिएका छन् । रौतहट ईशनाथ नपा ८ का १९ वर्षीय युवामा दोस्रोपटक कोरोना संक्रमण भएको पुुष्टी भएपछि उनको पुनःनारायणी अस्पताल बीरगञ्जमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

Back to top button