सीमा विवादकाे अन्त्य पर्खाल र काँडेतार

काठमाडौं, २९ वैशाख : पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैँ विवाद गर्नुभन्दा भारतसँगको सीमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सधैँभरी सीमा विवाद गर्नुभन्दा पर्खाल वा काँडेतार लगाउनु उत्तम हुने बताएका हुन् । उनले सबै ठाउँमा नसकेपनि मुख्य ठाउँमा पर्खाल र काँडेतार लगाउनु उत्तम विकल्प रहेकाे बताएका हुन् ।

विभिन्‍न ठाउँमा सीमा मिच्‍ने, दशगजा क्षेत्रमा बाँध बाँध्‍ने, सुरक्षा फौज तैनाथ गर्ने र सडक बनाउने काम गरिरहेकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनुपर्नेमा जोड दिएका हुन्। ‘जहाँ पनि समस्या पाइराखेको छ । सीमा मिच्ने काम भइराखेको छ । पिलर भत्काउने अनि सार्ने काम भइराखेको छ । बाँध बाँध्ने दसगजा क्षेत्रमा यस्तो काम भइराखेको छ । त्यसपछि हुँदाहुँदा त सुरक्षा फौजको तैनाथी र बाटो निर्माण पनि भयो’, उनले भने, ‘त्यसैले नियमन गर्ने काममा ध्यान दिन पर्‍यो। नियमनलाई कसरी व्यवस्थित गर्न सकिन्छ। अझ सीमै पनि कसरी व्यवस्थित गर्न सकिन्छ भन्‍ने कुरामा जानै पर्ने भो।’

अब भारतसँग सधैँ विवाद गरेर नसकिने पनि उनले बताएका छन्। ‘यदि विवादै सधैंभरी गर्नु छ भने त्यो भन्दा राम्रो त त्यसलाई कन्ट्रोल गर्ने उपाय के हुन सक्दछ’, उनले थपे, ‘कन्ट्रोल गर्ने उपायमा जानु पर्‍यो। यसको निम्ति काँडेतार लगाएर हुन्छ की पर्खाल खडा गरेर हुन्छ, सधैँभरी विवाद गर्नुभन्दा त क्लियर गरिदिनु राम्रो हो।’

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नुपर्ने समेत बताएका छन्। नक्सामा विवाद हुँदा अनावस्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्‍न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए। यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमासमेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै उनले विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनुपर्ने बताए।

उनले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षा कमीरुको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताए। ‘हाम्रो आफ्नो सम्पूर्ण भूभाग सहितको आधिकारिक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्न भएन’, नेपालले भने, ‘आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुपर्‍यो। विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षा कर्मीहरुका लागि उचित प्रबन्ध सररकाले गरोस्।’

सम्बन्धित खवर

Back to top button