प्रधानमन्त्री भन्छन् ‘भारतले लिपुलेकमा सडक खन्दैछ भन्ने जानकारी नै भएन’

काठमाडौं, ३० वैशाख : प्रधानमन्त्री केपी शर्मा ओली ओलीले लिपुलेकमा भारतले नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको सूचना आफूलाई नभएको बताएका छन् । भारतले लिपुलेक क्षेत्रमा सीमा अतिक्रमण गरि सडक बनाएकाे भन्दै सडकमा स्वयम प्रधानमन्त्री ओलीकै पुत्ला दहन भैरहँदा सीमा अतिक्रमण गरि सडक बनाएकाे कुरा प्रधानमन्त्री ओली आफूलाई कसैले रिर्पोटिङ नै नगरेको गुनासो मन्त्रिपरिषद् बैठकमा गरेका छन् ।

प्रधानमन्त्रीले लिपुलेकमा भारतले सडक बनाएको पूर्व सूचना आफूसँग नभएको बताएका हुन् । ‘सीडीओले रिर्पोटिङ गरेका थिए, के थिए भन्ने पत्रपत्रिकामा पढेँ । तर भारतले सडक खन्दैछ भन्ने मलाई कसैले रिपोर्टिङ गरेनन्’ उनले भने । तर, आइतबार र साेमबार माइतघर र बानेश्वरमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी नरेन्द्र माेदीकाे पुत्ला दहन भएकाे थियाे ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिपुलेक विवादबारे ब्रिफिङ गरेका थिए । यसबारे संसद र संसदीय समितिहरुमा भएको छलफलदेखि दलहरुले लिएको अडानबारे जानकारी गराएका थिए ।

लगतै प्रधानमन्त्री ओली झण्डै आधा घण्टा यसबारे बोलेको एक मन्त्रीले जानकारी लिए । उनले सुगौली सन्धिअनुसार काली नदी पूर्वको भूभाग नेपालको भएको बताए । तर कालापानी क्षेत्रमा सीमाको समस्या पुरानो भएको भन्दै उनले वि. सं. २०५५/०५६ अनेरास्ववियुका तत्कालीन अध्यक्ष योगेश भट्टराई र दीपक भट्टको नेतृत्वमा मार्चपास गरेको स्मरण गरेका थिए ।

सीमा समस्या समाधानका लागि सरकारले पटकपटक कुरा उठाउँदै आएको भएपनि भारतको नियत ठीक नभएको उनले बताए । ‘हिजो मात्र भारतका लागि नेपाली राजदूतले (महाराष्ट्रका गभर्नर) भगतसिंह कोसियारीसँग कुरा गर्नु भएको थियो । उहाँले नमिल्ने कुराकानी गर्नु भएछ’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

काली नदी पूर्वको भूभाग नेपालको हो भन्नेमा प्रष्ट अडान रहेको र त्यसअनुसार भारतसँग वार्ता गर्ने प्रधानमन्त्री ओलीले बताएको एक मन्त्रीले जानकारी दिए । उनले सीमा समस्याको कूटनीतिक समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।

सम्बन्धित खवर

Back to top button