अमेरिका र इटलीले कोरोना महामारीमा लगाएको प्रतिबन्ध हटाउँदै


एजेन्सी, ३ जेठ : कोरोना महामारीबाट हजारौं नागरिकको मृत्यु भइरहँदा अमेरिका र इटली सरकारले हाल अपनाइएका सजगता घटाउने बताएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाको खोप पत्ता नलागेपनि अब अमेरिका खुल्ने उल्लेख गरेका छन्। बीबीसीका अनुसार ट्रम्पले यो वर्षको अन्त्यसम्म खोप पत्ता नलाग्ने, तर अहिले मानिसमा प्रतिरोधी क्षमता विकास भएको दाबी गरेका छन्।
उता इटलीले पनि यसअघि कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको हवाई यात्रा प्रतिबन्ध खोल्ने निर्णय गरेको छ। यो निर्णयसँगै अब इटलीका मानिसहरु देशबाहिर जान र विदेशीहरु इटली जान पाउने भएका हुन्। इटलीले लकडाउनमा यसअघि अपनाइएका मापदण्डहरुलाई पनि खुकुलो पारेको छ।



कोरोनाबाट अति प्रभावित क्षेत्रहरुमा पनि यात्रा अनुमति दिनेगरी इटली सरकारले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो। जुन ३ तारिखदेखि हवाई आवागमन सुरु गर्ने, मे ४ तारिखदेखि उद्योग र पार्कहरु खोल्ने र १८ मे देखि पसल र रेष्टूराँहरु खोल्न दिने त्यहाँको सरकारले निर्णय गरेको छ।
कोरोना महामारीका कारण अमेरिकामा मानवीय हताहती र संक्रमण संख्या सबैभन्दा बढी छ। हालसम्म अमेरिकामा ८७ हजार ५५९ जना कोरोना संक्रमितको ज्यान गइसकेको छ भने १४ लाख ४३ हजार १८८ जना संक्रमित फेला परेका छन्।
यस्तै इटलीमा अहिलेसम्म भेटिएका दुई लाख ३२ हजार ८८८ संक्रमितमध्ये ३१ हजार ६१० जनाको ज्यान गइसकेको छ। सुरुवाती चरणमा कोरोनाबाट सैयौं मानिसको ज्यान जाँदा पनि इटली र अमेरिका दुवै देशले सजगता अपनाएका थिएनन्।








