धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पोजेटिभ, जनस्वास्थ्य प्रयोगशालामा पुनःपरीक्षण गरिदै

काठमाडौं, ३ जेठ : धुलिखेल अस्पतालमा ज्यान गुमाएकी सिन्धुपाल्चोककी महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको छ। धुलिखेलिस्थत ल्याबमा कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुनः परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब पठाइएको छ।

धुलिखेल अस्पतालमा उपचाररत सुत्केरी महिलाको बिहीबार राति मृत्यु भएको थियो। कोरोना भाइरस (कोभिड–१९) सँग मिल्दोजुल्दो लक्षण देखिएकी ती महिलाको श्‍वासप्रस्वासमा समस्या देखिएपछि मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। श्वासप्रश्वासमा समस्या आएपछि ती महिलालाई अस्पताल ल्याइएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमार झाले बताए ,‘ श्वासप्रश्वासमा समस्या भएपछि ती महिला अस्पताल भर्ना भएकी थिइन्, उनको ९ दिनको बच्चा रहेको जानकारी प्राप्त भएको छ ।’ ती महिला सिन्धुपाल्चोक जिल्ला बाह्राबीसे नगरपालिका वडा नं. ९ निवासी हुन् ।

गत वैशाख २५ गते शिक्षण अस्पताल काठमाडौंबाट डिस्चार्ज गरी उनी घर गएकी थिइन्। तर, अकस्मात स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ३१ वैशाखमा बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रमा भर्ना गरिएको थियो। आइसियुमा राखेर उपचार गर्नुपर्ने भएकाले उनलाई बाह्रविसे प्राथमिक स्वास्थ्य केन्द्रबाट धुलिखेल अस्पताल रिफर गरिएको थियो।

ती महिलालाई बिहीबार साँझ धुलिखेल अस्पताल ल्याइएको थियो । धुलिखेल अस्पताल सिल यसैबीच सिन्धुपाल्चोककी ती महिलाको ज्यान गएपछि धुलिखेल अस्पताललाई सिल गरिएको छ। मृत्यु भएकी महिलाको स्वाब धुलिखेलस्थित ल्याबमा परीक्षण गर्दा कोरोना देखिएपछि अस्पताल सिल गरिएको हो।

अहिले कोरोना नियन्त्रण तथा रोकथाम जिल्ला कमाण्ड पोस्टको बैठक बसिरहेको छ। जिल्ला स्वास्थ्य प्रमुख डा. नरेन्द्र झाले कमाण्ड पोस्टको बैठक बसिरहेको जानकारी दिए। उनले महिलामा कोरोना पुष्टिबारेमा आधिकारिक थाहा नभएको बताउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताउने उल्लेख गरे।

सम्बन्धित खवर

Back to top button